जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम र बजेट तयार गर्ने सिलसिलामा सुझाव संकलन गरेको छ । नगरपालिकाले जनमुखी तथा सहभागी योजना निर्माणलाई प्राथमिकता दिँदै नागरिक, सरोकारवाला र संघसंस्थाबाट सुझाव माग गरेको हो ।
जनताको आवश्यकता बुझ्न, वास्तविक समस्या पहिचान गरी समाधानमुखी योजना बनाउने र सार्वजनिक सेवा प्रभावकारी बनाउने सुझाव संकलन गरिएको नगरप्रमुख राजुसिंह कठायतले बताए । यस्तै स्थानीय विकासमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नका लागि सुझाव संकलन गरिएको हो ।
स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन प्रवद्र्धन, पर्यटन तथा पूर्वाधार विकास, महिला, बालबालिका, अपांगता र ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम, रोजगारी सिर्जना, उद्यमशिलता विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका विषयका सुझाव माग गरेको छ । नागरिकले दिएका सुझावलाई नीतिमा समावेश गरिने नगरउपप्रमुख रामदेवि खडकाले बताइन् ।



