जुम्ला । जुम्लामा संचालित उत्थान परियोजनाले विपद जोखिम न्युनिकरण तथा विपद् प्रतिकार्यका लागि ७० लाख बढी रकम लगानी गरेको छ ।
जुम्लाको सिंजा गाउँपालिकासंग समन्वय र सहकार्य गरी पेश नेपाल जुम्लाद्धारा संचालित उत्थान परियोजनाले विपद् प्रतिकार्य तथा भूकम्प प्रतिरोधी संरचना निर्माण र क्षामता विकासमा ७० लाख लगानी गरेको हो ।
कारितास जर्मनीको आर्थिक सहयोगमा पेश नेपाल जुम्ला मार्फत संचालित मानवीय सहायता विपद् जोखिम न्यूनिकरण (उत्थान) परियोजनाले सिंजा गाउँपालिका वडा नं. २,३ र ६ मा विपद जोखिम न्युनिकरणका लागि विभिन्न क्षेत्रमा काम गरेको छ । परियाेजनाले सिंंजा गाउँपालिका संगकाे सहकार्यमा विपद् प्रतिकार्य याेजना निर्माणदेखि पूर्वाधार विकासमा फड्काे मारेकाे छ ।
भूकम्प प्रतिराेधि संरचना निर्माणदेखी,विपदबाट बच्न र क्षति न्यूनिरकण गर्नुका साथै विपद जाेखिम पूर्वतयारीलाई मजबुद बनाउनका लागि उत्थान परियाेजनाले एक वर्षकाे अवधिमा तालिम दिने देखि नमुना पूर्वाधार समेत बनाएकाे छ ।
गत असारदेखी संचालित उक्त परियोजनाले पालिकाको समन्वयमा सिंजामा विपद जोखिम न्युनिकरणका लागि पूर्वाधार विकास,तथा प्रतिकार्य योजना र कार्यक्रममा उल्लेखीय काम गरेको पाइएको छ । विपदका हिसाबले जोखिममा रहेको सिंजामा परियोजना संचालनपछि विपद प्रतिकार्यका गतिविधि बढेका छन् ।
सिंजा गाउँपालिका र उत्थान परियोजनाको सयुंक्त ७० लाख लगानीमा सिंजामा विपद् पूर्वतयारीलाई मजबुद बनाउन दक्ष मिस्त्री तालिम,भूकम्प प्रतिरोधी संरचना निर्माण,वडा र पालिका स्तरमा विपद् व्यवस्थापन समिति गठन तथा क्षामता विकासका कार्यक्रममा जोड दिएको पेश नेपालका परियोजना संयोजक हेमराज भट्टले बताए ।

बुधबार जिल्ला परियोजना सल्लाहकार समितिको बैंकठमा प्रस्तुत गरिएको प्रतिवदेन अनुसार उत्थान परियोजना र पालिकाको संयुक्त लगानीमा सिंजा गाउँपालिकामा २८ वटा भूकम्प प्रतिरोधी घर निर्माण गरिएको छ । भने सिंजाका स्थानीयलाई विपदबाट जोखिम बृहत्त रुपमा सचेतना पनि फैलाएको छ । साथै जलवायू अनुकुलित खेतीपाती गर्न यूवालाई कृषिमा समेत जोडिएको छ ।
परियोजना संयोजक भट्टका अनुसार परियोजनाका गतिविधिबाट एक वर्षमा सिंजाका ३ वटा वडाका ४ सय बढी स्थानीय लाभान्वित भएका छन् । भने ३ वटा विद्यालयको विपद जोखिम न्युनिकरण योजना निर्माण,६ वडामा वडास्तरीय विपद व्यवस्थापन समिति गठन,१२ वटा समुदाय स्तरमा विपद व्यवस्थापन समिति गठन भएका छन् ।
विपद जोखिम न्यूनिकरणलाई लक्षित गर्दै ३ वटा यूवा क्लब गठन,३२ जना यूवालाई प्रथम उद्दारकर्ता तालिम,२० जना यूवालाई प्रथामिक उपचार तालिम,१०५ जनालाई विपद पूर्वतयारी अभिमुखीकरण तथा नमुना अभ्यास तालिम,६ वटा बाढी प्रभावित घरको सबलीकरण लगायतका काम भएको परियोजना संयोजक भट्टले उल्लेख गरे ।
भने ५२ जना दक्ष मिस्त्री तालिम,पहिरो जाने १ स्थान वायो इन्जियनिरिग निर्माण लगायतका गतिविधि गरिएको छ । भने जलवायू अनुकूलित खेतीपाती विस्तार र जोखिम स्थान तथा विद्यालयमा १५ सय ५० वटा विरुवा रोपिएको छ ।
विपद् जोखिम न्युनिकरण तथा विपद प्रतिकार्यलाई मजुबद बनाउन विभिन्न क्षामता विकासका कार्यक्रम संचालन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा ७० लाख लगानी भएको छ । जसमा पेश नेपालद्धारा संचालित उत्थान परियोजनाले ५५ लाख ६ हजार र सिंजा गाउँपालिकाले १४ लाख १८ हजार १७५ रुपैया लगानी गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले विपद प्रतिकार्यका लागि नागरिकलाई सक्षम बनाउनेदेखी पूर्वाधार निर्माण उत्थान परियोजनाले गरेको काम अनुसरणीय भएको बताए । उनले भने,‘२०७९ मा आएको भिषण बाढी पहिरो र त्यसको प्रभाव अहिले पनि कायम छ । विपद् पूर्वतयारी मजबुद नबनाउँदा सानो विपद्बाट पनि ठुलो क्षति व्यहोर्नु पर्छ । त्यसैले उत्थान परियोजनाका गतिविधिलाई स्थानीय सरकारले निरन्तरता दिन जरुरी छ ।’
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले विपद जोखिम न्यूनिकरणका लागि प्रतिकार्य योजना,कार्यक्रम र पूर्वाधारमा भएका असल अभ्यासलाई आठै पालिकाले निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
विपद व्यवस्थापनको तालुक निकाय प्रशासन भएकोले आगामी दिनमा थप समन्वय गर्न सुझाव दिए । विपद् जोखिम न्युनिकरण,जलवायू अनुकुलन तथा उद्यमशीलता विकासका नविन प्रयास र उपलब्धीलाई अभिलेख राख्न समेत अनुरोध गरिएको छ ।



