जुम्ला – तातोपानी गाउँपालिका जुम्लाले गुणस्तरहिन गड्यौला मल वितरण विषयमा छानविन समिति गठन गरेको छ । गाउँपालिका प्रवक्त वडाध्यक्ष अमरबहादुर रोकायाको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
साउन ९ गते गाउँकार्यपालिकाको निर्णयले गाउँपालिका प्रवक्त रोकायको संयोजकत्वमा पाँच सदस्सीय छानविन समिति गठन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले बताए । उनले भने, दिव्या अर्गानिक फर्टिलाईजर चितवनबाट गड्यौला मल खरिद गरी कृषकलाई साउन ६ र ७ गते वितरण गर्दा किसानबाट गड्यौला मल गुणस्तरहिन भएको भन्ने जन गुनासो आएको छ ।
उक्त मल के कसो भएको हो । सत्य तथ्य छानबिन गरी यथार्त प्रतिवेदन ७ दिन भित्र पेश गर्ने उद्देश्यका साथ पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने, गाउँपालिकाबाट हुन गएको यस प्रकारको प्राविधिक त्रुटीले कृषक माँझ पर्न गएको असुविधा प्रति गम्भिर ध्यानाकर्षण भएको छ । आगामी दिनमा यस प्रकारका समस्या नदोहोरिने प्रतिवद्धता व्यक्त गर्दछौं ।




