जुम्ला – नेपाल तरुण दल जिल्ला कार्यसमिति जुम्लाको अधिवेशन लम्बिदै गएको छ । पाँचौँ अधिवेशन साउन ९ गते उद्घाटन भएको हो । साउन १० गतेदेखि बन्द सत्र सुरु भएको हो । दलभित्रको आन्तरिक असमझदारी र संभावित द्वन्द्वलाई समाधान गर्न नियमित बैठक छलफल भएपनि अधिवेशनले नेतृत्व टुंग्याउन सकेको छैन ।
नेपाली काँग्रेस पार्टी जुम्लाले नेतृत्वसहित पदाधारी चयनका लागि उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग शाही, र कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर खड्काको सहभागितामा समिति गरेको हो ।

अध्यक्ष पदका आकांक्षी उम्मेदार सुरुमा १४ जना देखिएका थिए । पछिल्लो अपडेट अनुसार ६ जना अध्यक्ष पदका उम्मेदवार रहेका छन् । अध्यक्ष पदका उम्मेदवार विरेन्द्रबहादुर शाही, सञ्जीव रावल, भरत शाही, रतन शाही, हेम बुढ्थापा र राजेन्द्र श्रेष्ठ रहेका छन् । निर्वाचन मण्डलका संयोजक भक्तबहादुर बुढाका अनुसार सचिवमा ५ जना र वरिष्ठ उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । एक जना कोषाध्यक्ष, एक जना सहसचिव र एक जना उपाध्यक्ष मनोनित लिने विधान रहेको छ ।
नेतृत्वसहित पदाधिकारी छनोटमा सहमतिका लागि नियमित रुपमा बैठक बसी रहेको संयोजक बुढा बताए । उनले भने आज (आइतबार) सहमति नजुटेको खण्डमा भोली (सोमबार) निर्वाचन नै हुने सम्भावना देखिएको छ । सहमति नभएर निर्वाचन नै भएको खण्डमा ३४१ जना प्रतिनिधिले मतदान गर्न पाउने निर्वाचन मण्डलले जनाएको छ । दलभित्रको एकता जोगाउँदै युवा नेताहरूलाई जिम्मेवारी दिने उद्देश्यले समितिले निष्पक्ष र समावेशी निर्णय गर्ने विश्वास गरिएको कांग्रेस पार्टी जुम्लाले जनाएको छ ।



