जुम्ला । जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिका वडा नं ६ को जन सेवा यूवा क्लब (बी)ले जितेको छ । चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित प्रतियोगिताको उपाधी जन सेवा यूवा क्लबले जितेको हो ।
आईतबार आयोजक क्लब चन्दननाथ–३ र जनसेवा यूवा क्लब (बी) बीच भएको फाईनल खेलमा पेनाल्टी सुटआउटबाट जनसेवा यूवा क्लब प्रतियोगिताको उपाधी उचाल्न सफल भएको हो ।
खेलको निर्धारित सम्म दुई हाफमा दुबै टिमलले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । दुबै टिम गोल रहित बराबरी भएपछि भएको पेनाल्टि सुटआउटमा आयोजक क्लब चन्दननाथ–३ लाई ५–६ गोलले पराजित गर्दै जनसेवा उपाधि चुम्न सफल भएको छ ।

भने आयोजक क्लब चन्दननाथ–३ उपविजेतामै सिमित भएको छ । चन्दननाथका–३ का खेलाडीको पेनाल्टी सुट आउटको अन्तिम बल आउट गएपछि उक्त टिमले हारेको हो । प्रतियोगिताको उपाधी जित्ने जनसेवा यूवा क्लब (बी) ले नगद रु एक लाख १ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै उपविजेता हुने आयोजक क्लब चन्दननाथ–३ ले नगद ५० हजार, मेडल, प्रमाण पत्र प्राप्त गरेको प्रतियोगिता आयोजना समितिका संयोजक राज बहादुर खत्रीले जानकारी दिए ।
प्रतियोगिता यही कार्तिक ३ गते बाट नेपाली सेनाको खेलमैदान टुडिखेलमा सुरु भएको थियो । प्रतियोगितामा जिल्ला भरीबाट ४४ वटा टिमले सहभागिता जनाएका थिए । विजेता तथा उपविजेता टिमलाई चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायत, उपमेयर रामदेवी खड्का लगायतका विशिष्ट व्यक्तिबाट पुरस्कार प्रदान गरिएको छ ।



