जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले वर्षभरि संचालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ आईतबार सम्पन्न भएको हो ।
गाउँपालिकाले आव २०८१।०८२ मा ३८ करोड ४६ लाख अनुमानित बजेट ल्याएकोमध्ये कुल बजेटको चालुतर्फ र पुँजीगततर्फ गरि ३५ करोड ८९ लाख ४ हजार रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए ।
सिंजाले गत आवमा १५८ वटा योजना छनोट रहेकोमा १३५ वटा योजना सम्पन्न भइ संचालनमा आएका छन् । पालिकाका ६ वटै वडामा कृषि, पर्यटन, खानेपानी, सिँचाई लगायतका १३५ वटा योजना सम्पन्न भएका छन् । सिंजाका अधिकांश टुक्रे योजना देखिएका छन् ।
ठेक्का मार्फत संचालनभए भुक्तानी भएका ६ वटा योजनामध्ये गाउँपालिकाको प्रशनसकीय भवनको रनिङ्ग विल मात्रै भुक्तानी भएको छ । उक्त आवमा पालिकाको २६ लाख ६४ हजार आन्तरिक राजस्व सङ्कलन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रमकाे उद्घाटन गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा उठेका गुनासा तथा सुझावहरुलाई गाउँपालिकाले क्रमशःहल गरिने भएको छ ।
यहाँका सबै राजनीतिक दलदेखी सरोकारवालासंग आपसी समन्वय र सहकार्य बढाउँदै वडास्तरमा हुने विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने र जनताका गुनासो सुनुवाई गर्ने व्यवस्था गरिने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
आफ्नो कामको पालिका आफैले सार्वजनिक सुनुवाइ गर्नुभन्दा अन्य निकायलाई गर्न लगाउँदा अझै विश्वसनीय हुने भएकाले सेवा प्रदायक संस्थालाई सार्वजनिक सुनुवाइ गर्न दिएको गाउँपालिका प्रवक्ता तिर्थ वडले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण तिला मल्टिप्रपोज मिडिया प्रालीले गरेको थियो ।



