तिलाको हिउँदे गाउँसभा सम्पन्न, ६ वटा नीति पारित

जुम्ला — तिला गाउँपालिकाको आयोजनामा शुक्रबार १७औँ हिउँदे गाउँसभा (अधिवेशन) सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अत्यावश्यक ६ वटा विधेयक पारित गरेको छ।

विधान सभाका रुपमा चिनिने दिउँदे गाउँसभाबाट तिलाले ६ वटा नीति पारित गरेको हो ।  जसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (२०८२), गाउँसभा सचिवालय स्थापना तथा सञ्चालन कार्यविधि, बेरुजु फर्छ्यौट कार्यविधि-२०८२, लेखा समिति गठन तथा सञ्चालन कार्यविधि-२०८२ लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम सञ्चालन कार्यविधि-२०८२, ‘घ’ वर्गका निर्माण व्यवसायी इजाजतसम्बन्धी संशोधित कार्यविधि तथा घर नक्सा पाससम्बन्धी मापदण्ड र कार्यविधि पारित भएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

अधिवेशनमा गाउँपालिकाले हालसम्म गरेका भौतिक, वित्तीय, संस्थागत तथा सेवा क्षेत्रका प्रगति विवरण बुँदागत रूपमा प्रस्तुत गरिएको थियो। दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएको तिला–१ राराबस्तीमा खानेपानी योजना सञ्चालनमा आएको छ। 

चालु आर्थिक वर्षमै रारागाउँ बस्तीमा धारा विस्तार गर्ने गरी काम भईरहेको छ भने,  ट्यांकी निर्माण र घरघरमा पाइपलाइन विस्तारको काम पनि अघि बढाइएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का प्रक्रियामार्फत सञ्चालन हुने १४ योजनामध्ये १२ वटाको बोलपत्र र सम्झौता सम्पन्न भइसकेको छ भने बाँकी २ योजनाका लागि बोलपत्र आह्वान गरिएको छ। 

उपभोक्ता समितिमार्फत सञ्चालन हुने १७ योजना सम्झौता भइसकेका छन् भने बाँकी १०३ योजना चैतभित्र सम्झौता गर्न वडाहरूलाई निर्देशन दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रावलले जानकारी दिए ।

शिक्षातर्फ गाउँपालिकाभित्र ३१ सामुदायिक र १ संस्थागत गरी ३२ विद्यालय सञ्चालनमा रहेका छन्। सामुदायिक विद्यालयहरूका लागि पहिलो र दोस्रो त्रैमासिकको चालु निकासा तथा तीन महिनाको दिवा खाजा रकम वितरण भइसकेको छ।

सामाजिक सुरक्षा भत्ताअन्तर्गत पहिलो त्रैमासिकमा ३३८८ लाभग्राहीलाई करिब १ करोड ७५ लाख रुपैयाँ र दोस्रो त्रैमासिकमा ३४११ जनालाई करिब १ करोड ७७ लाख रुपैयाँ वितरण गरिएको छ।

स्वास्थ्य सेवातर्फ आयुर्वेद सेवाबाट ६५० जनाले सेवा लिएका छन् भने औषधि खरिदका लागि विनियोजित २ लाख ५० हजार रुपैयाँ प्रक्रियामा रहेको छ।

राजस्व संकलनतर्फ चालु आर्थिक वर्षका लागि २८ लाख ८ हजार ७५० रुपैयाँ लक्ष्य राखिएकोमा हालसम्म करिब ९ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ। लघु उद्यम विकास शाखामार्फत ३ नयाँ फर्म दर्ता, १६ फर्म नवीकरण, ५ फर्मको पूँजी वृद्धि, ३ फर्म खारेजी तथा १ उद्योग नवीकरण गरिएको छ भने सिलाइकटाइ तालिम सञ्चालनमा रहेको छ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड २१ लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म पुँजीगततर्फ २४ प्रतिशत र चालुतर्फ १७ प्रतिशत खर्च भएको छ। साथै विपद् तथा अन्य स्रोतबाट उपलब्ध १ करोड ५३ लाख रुपैयाँ आवश्यकताअनुसार विभिन्न योजनामा विनियोजन गरिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस