जुम्ला । तातोपानी गाउँपालिका वडा नं २ पूर्णखोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा भएको छ । पालिकालाई पूर्णखोप सुनिश्चितता गर्ने वार्षिक कार्यक्रम अनुसार वडाहरुलाई घोषणा गर्न थालिएको हो ।
जसमा मंगलबार तातोपानी गाउँपालिका वडा नं २ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । वडा नं २ का अध्यक्ष चन्द्रमान बुढाको अध्यक्षतामा वडालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको तातोपानी स्वास्थ्य चौकीका ईन्चार्ज जंग रावलले बताए ।
उनका अनुसार वडा नं २ का घरधुरी सर्वेक्षण गर्दा १२-२३ महिना उमेरका ६८ जना बालबालिका भेटिएका छन् । जसमा नियमित खोप-२६ बालबालिकाले प्राप्त गरेका छन् । भने चालु आवको साउन यता १९ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।
आठ वटा वडा रहेको तातोपानीमा वडा नं १ र २ पूर्णखोप सुनिश्चितता घोषणा भईसकेका छन् ।अन्य वडा घोषणाको चरणमा छन् ।
तातोपानी-२ का अध्यक्ष चन्द्रमान बुढाले नियमित कार्यक्रम अनुसार खोप उमेर समुहका बालबालिका सबै खोपको पहुँचमा पुगेको सुनिश्चित गर्न वडादेखि पालिका र जिल्ला घोषणा गरिदै आएको बताए । यदपी वडा नं २ मा स्वास्थ्य क्षेत्रका जनशक्तिको अभावले समस्या भएको र जनशक्ति पठाईदिन गाउँपालिकामा निरन्तर पहल गरिरहेको उल्लेख गरे ।



