जुम्लामा घरदैलोमै राहदानी वितरण सुरु

जुम्ला । जुम्लामा घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । नयाँ सरकारका शासकीय सुधारका सय कार्यसूचि अन्तरर्गत जुम्लाका नागरिकलाई घरदैलोमै राहदानी वितरण सुरु गरिएको हो ।

घरदैलोमै राहदानी पुराउने विषयमा बुधबार जिल्ला प्रशासन जुम्ला र जिल्ला हुलाक कार्यालय जुम्लाबीच दुई पक्षीय समझदारी समेत भएको छ ।

उक्त सझदारी अनुसार हुलाक कार्यालयका एक कर्मचारी जिल्ला प्रशासनमा बस्ने छन् । प्राप्त भएका राहदानी प्रशासनले हुलाकको जिम्मा लगाउने र हुलाकका कर्मचारी सम्बन्धित नागरिकका घरघरमा पुगेर राहदानी वितरण गर्ने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । 

´सरकारका शासकीय सुधारका सय कार्यसूचि अन्तर्गत सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, छिटो छरितो बनाउने अभियान अन्तर्गत विभिन्न सुधारका काम गरिरहेका छौ ।` 

प्रजिअ पौडेलले भने,´अब जिल्लाका आठै स्थानीय तहका घरघरमा पुगेर हुलाकका कर्मचारी राहदानी दिने छ । सम्बन्धित लाभग्राहीले राहदानी बुझे बापत ५५ रुपैया बुझाउनु पर्ने छ । भने लाभग्राहीको तीन पुस्ते विवरण बुझेर मात्र उपलब्ध गराईने छ ।`

राहदानी लिनका लागि सदरमुकाम आउनु पर्ने, आउजाउमा रुपैया खर्चिनु पर्ने बाध्यता झेल्दै आएका स्थानीयले घरमै राहादानी पाउने भएपछि राहत महसुश गर्ने छन् । 

जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट प्राप्त भएका राहदानीहरु हुलाकका कर्मचारी (हल्कारा) मार्फत तीन दिनभित्र सम्बन्धित सम्बन्धित सेवा ग्राहीको घरमै पुराउने वाताबरण बनाईएको बताए ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस