जुम्ला । चर्चित गायक प्रमोद खरेलले कर्णालीको सौन्दर्य र मौलिकतालाई समेट्दै नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले कर्णाली प्रदेशको प्राकृतिक सुन्दरता, सांस्कृतिक पहिचान र स्थानीय भावनालाई उजागर गरेको छ।
गीतको छायांकन कर्णालीका विभिन्न रमणीय स्थानहरू—जुम्लाको पातारासी, प्रसिद्ध कृष्ण मन्दिर, कुडारी र रारा क्षेत्र तथा कर्णाली नदी आसपास—मा गरिएको हो। दृश्यले कर्णालीको प्राकृतिक वैभवलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतको विशेष आकर्षणका रूपमा जुम्ला सिन्जाकी सृष्टि बुढाको स्वर रहेको छ। स्थानीय भैरव माध्यमिक विद्यालय नराकोटमा कक्षा ९ मा अध्ययनरत सृष्टिले काठमाडौंस्थित मारुनी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गराएकी हुन्।
कर्णालीको मौलिक आवाजलाई उजागर गर्ने उद्देश्यले गायक प्रमोद खरेलले व्यवसायिक गायकभन्दा पनि स्थानीय प्रतिभाको खोजी गरेका हुन । सोही क्रममा सांसद ज्ञानेन्द्र शाहीमार्फत सृष्टिको प्रतिभाबारे जानकारी पाएपछि उनलाई बोलाएर गीतमा समेटिएको हो।




