जुम्ला । जुम्लाका आठै स्थानीयतह आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमाको तयारीमा जुटेका छन् । संघ र प्रदेशले बजेट ल्याएसंगै जुम्लाका स्थानीयतहरु नीति र बजेट निर्माणमा जुटेका हुन् ।
संघीय सरकारबाट जुम्लाका आठ पालिकाले २ अर्ब ४१ करोड अनुदान पाएका छन् । भने कर्णाली प्रदेश सरकारले सोमबार बजेट ल्याएपनि स्थानीयतहलाईए वित्त हस्तान्तरण कति भयो भन्ने आएको छैन् ।
यदपी संघ प्रदेशको बजेट आएपछि पालिकाहरु नीति र बजेट निर्माणमा सक्रिय भएका छन् । स्थानीयतहले असार १० गते बजेट र नीति ल्याउनु पर्ने प्रावधान अनुसार स्थानीय आबश्यकता र मागलाई संबोधनका लागि नागरिक तहबाट पालिकाले सुझाव समेत मागिरहेका छन् ।
आठ पालिकामध्य तातोपानी गाउँपालिकाले भने नागरिकलाई आफुलाई लागेको राय सुझाव पेश गर्न सूचना जारी गरेको छ । नीति तथा कार्यक्रमलाई जनमुखी बनाउन तातोपानीले यूवा, महिला, बालबालिका, नागरिक समाज, राजनीतिक दल सबैलाई सुझाव पेश गर्न आग्रह गरिएको छ ।
संघीयतापछि स्थानीय सरकारले सात चरण पार गरेर नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने प्रावधान छ । संघीयताअघि १४ चरण पार गर्नुपर्ने नीति भएपछि संघीयता कार्यान्वयन पछि भने सात चरण अनिवार्य पार गरेर नीति कार्यक्रम बनाउनु पर्ने व्यवस्था छ । तर अधिकांश स्थानीयत भने हचुवाकै भरमा नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दै आएका छन् ।
जसका कारण स्थानीय तहको सेवा प्रवाहबारे नागरिक तहमा असन्तुष्टि बढ्दै गएको देखीन्छ । बस्तीस्तरको माग र आवश्यकता पहिचान गर्दै, सबैको सुझाव संकलन गरेर वडा हुँदै पालिकामा आएर विभिन्न चरण पार गरेपछि नीति तथा कार्यक्रम र बजेटले पूर्णता पाउँछ । यद्यपि बजेट निर्माणका सबै चरण पारगर्ने अभ्यासको थालनी भने स्थानीय तहमा निकै कम भएको देखिन्छ ।
तर जुम्लाको तातोपानी गाउँपालिकाले आमनागरिकलाई माग, आवश्यकता र गुनासोलाई सम्बोधन गर्न बजेटमाथि सुझाव संकलन गर्दै आएको छ । सोमबार सूचना जारी गरेर पालिकाको नीति र बजेटका निम्तीलाइ अनिवार्य सल्लाह दिन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताए ।
विनियोजित बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र जनताकै सुझावका आधारमा जनमुखी बजेट ल्याउन सुझाव संकलन गर्न थालेको उनको भनाई छ । आगामी आव ०८३÷०८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने योजनासहित आवश्यक सुझाव दिन आग्रह गरिएको छ ।
उनले भने,‘प्रविधिको विकाससँगै सबै उमेर समूहका नागरिक इन्टरनेटको पहुँचमा छन् । महिला, बालबालिका, दलित, युवा, अपांग व्यक्तिका योजनालाई समेट्न पनि सुझाव संकलन थालेका हौं । ई–मेल वा भौतिकरूपमै उपस्थित भएर समाजका आवश्यकताका योजना माग गर्न सक्नेछन् ।’ आगामी असार ५ गतेसम्म नीति तथा कार्यक्रम र बजेट माथि आम
तातोपानीबासीले आफूलाई लागेका सुझाब दिन सक्ने छ ।
आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन गरी उपलब्ध स्रोतलाई मध्यनजर गर्दै आवश्यकता र प्राथमिकताका आधारमा नीति कार्यक्रम र बजेट तर्जुमा गरिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
‘स्थानीयतहको आन्तरिक आय निकै कमजोर छ’,उनले भने,‘संघ र प्रदेशबाट आएको अनुदानका भरमा हामीले बजेट बनाउदै आएका छौ । उक्त बजेटलाई प्रभावकारी बनाउन जनताको भावना समेट्दै छौ ।यसले बजेट कार्यान्वयनमा गति लिने पनि हाम्रो अपेक्षा छ ।’
सिमित स्रोत साधन र असिमित नागरिकका आबश्यकता र माग आउने भएकाले प्रथामिकीकरण गरी नीति र बजेटमा सुझावलाई समेटीने अध्यक्ष चौलागाँईले उल्लेख गरे । नीति तथा बजेट तर्जुमामा सबैको सहभागिता सुनिश्चित तथा गुनासो सुनुवाइ गर्ने पद्धतिको विकास गर्न तातोपानीले रहेक आवमा नागरिकको सुझाव माग्ने गरेको छ ।



