विकट गाडापारीमा ५३ लाखको खानेपानी योजना बन्दै

वर्षौदेखीको पानी अभावको समस्या अन्त्य हुने आशा

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ७ स्थित गाडापारीका स्थानीय चुमरे रावतले खानेपानी अभाव झेलेको दशकौ भयो । भौगोलिक रुपमा विकट उक्त गाउँमा पानी पुराउन कसैले ध्यान नदिँदा रावत जस्तै गाडापारीका दर्जनौ घरधुरीले वर्षौदेखी पानी अभावको कष्ट भोग्दै आएका छन् ।

‘गाउँबाट झण्डै २÷३ घण्टा हिडेर मूलको पानी ल्याएर दैनिकी गुर्जान बाध्य छौ’,उनले भने,‘पानी अभावकै कारण गाउँको दैनिकी चलाउन मात्र कठिन छैन् । पानी नहुँदा गाडापारीका कसैका घरमा शौचालय समेत छैन् । शौचालय निर्माण गर्न सबै तयार छन् । तर पानी नहुँदा समस्यामा छौ । कठिन भूगोल र लगानी अभावले पानी अभाव हाम्रो नियती जस्तै बनेको छ ।’
चुमरे रावत मात्रै हैन् गाडापारीका २७ घरधुरीका सयौ जनासंख्या गाउँमा पानी नहुँदा काकाकूल बनेका छन् । गाउँभन्दा टाढा स्रोत भएपनि लगानी नजुट्दा पानी अभाव झेल्न बाध्य गाडापारीमा ढिलै भएपनि बृहत्त खानेपानी आयोजना निर्माण हुने भएको छ ।

गाउँमा खानेपानी आयोजना निर्माण हुने भएपछि गाडापारीका स्थानीय उत्साहित भएका छन् । स्थानीय जोखी रावत भन्छन,‘गाउँमा पानी नहुँदाका प्रत्यक्ष दुःख महिलाले भोगी रहेका छौ । एक गाग्री पानी ल्याउन घण्टौ उकालो ओरालो हिड्नु पर्ने स्थिती छ । बरु बजारबाट किनेर ल्याएको तेल खर्च सहज लाग्छ । पानी खर्च गर्न मुस्किल छ । ढिलै भएपनि आयोजना बन्दै छ । हाम्रा दुख अन्त्य हुने आशामा छौ ।’

तातोपानी–७ स्थित पहाडको टुप्पोमा अबस्थित गाडापारी गाउँमा तातोपानी गाउँपालिका र जलवायू परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनाले बृहत्त खानेपानी आयोजना निर्माण गर्ने भएको छ । झण्डै ५३ लाख बढीको लगानीमा उक्त गाडापारीमा एकघर,एकधारा निर्माण गरिने भएको छ । गाडापानी खानेपानी तथा सरसफाई योजना मार्फत गाडापारीका २७ घर, कोपिला आधारभूत विद्यालयमा खानेपानी पुराईने लक्ष्य राखिएको छ ।

कुल ५३ लाख बढीको लगानीमा निर्माण हुने गाडापारी खानेपानी तथा सरसफाई योजनामा गाउँपालिकाको १६ लाख १ हजार ८५५ रुपैयाँ, फिनल्याण्ड सरकार र इयूको अनुदान १४ लाख १४ हजार ९७२ रुपैयाँ, नेपाल सरकारको १२ लाख १ हजार ३९१ रुपैयाँ लगानी छ । भने १० लाख ६७ हजार ९०३ रुपैयाँ बराबरको उपभोक्ताले जनश्रमदान गर्नुपर्ने छ ।

१४५ जनसंख्या रहेको गाडापारीको आबश्यकतालाई मध्यनजर गरी गाउँपालिका र लक परियोजनाले खानेपानी आयोजना निर्माण गर्न थालेपछि स्थानीय उत्साहित भएको स्थानीय हरि बहादुर रावतले बताए । खानेपानी योजनाका सचिव समेत रहेका रावतले भने,‘गाडापारी गाउँ उत्पादनमा आत्मनिर्भर छ । आयातित तेल नुन बाहेक सबै आफ्नै उत्पादनमा निर्भर छौ । तर पानी अभावकै कारण हामीले कष्ट भोग्दै आएका थियौ । अब वर्षौदेखीको कष्ट अन्त्य हुने आशा पलाएको छ ।’ योजना सम्झौतादेखी, सामाग्री खरिद लगायतका सबै प्रक्रिया सकेर योजना निर्माण हुने चरणमा रहेको उनको भनाई छ ।

लक परियोजनाले योजना निर्माण हुनु पहिला गाउँको वास्तविक अबस्था पहिचान गर्न घरधुरी सर्वेक्षण समेत गरेको छ । गाउँमै पुगेर घरधुरी सर्वेक्षण गरेकी लक परियोजना सामाजिक परिचालक रामदेवी चनाराले पानी अभावकै कारण कुनै पनि घरमा शौचालय नभएको भेटिएको बताईन् । वर्षौदेखी काकाकूल बनेको गाउँ पानीको पर्खाइमा रहेकाले योजना निर्माण गर्न निकै आत्तुर रहेको उनको भनाई छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले पालिकाले भेरीखोलालाई विशेष क्षेत्रका रुपमा घोषणा गर्दै विकासका गतिविधि बढाएको बताए । ‘भेरीखोलाको गाडापारी निकै विकट बस्ती हो’,उनले भने,‘पानीको स्रोत भएपनि लगानी अभावले काकाकूल बनेको गाउँमा पानी पुराउन ५३ करोड बढी लगानी गर्दै छौ । छिटै गाडापारीमा पुग्ने आशामा छौ ।’

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस