जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ६ को चार हेक्टर खेतीयोग्य जमिनमा बाढी पहिरोले क्षति पुराएको छ । बुधबार परेको भारी वर्षापछि आएको बाढी पहिरोले तातोपानी–६ स्थित रावतबाडा, खंकबाडा र धौलापानी गाउँको झण्डै चार हेक्टर भन्दा बढी मार्सीधान, मकै, कोदो, स्याउ खेती गरेको जग्गामा क्षति पुगेको हो ।
एक्कासी परेको भारी वर्षापछि आएको बाढीले वडा नं.६ को पिपल ज्यूलो र धौलापानी ज्युलोको मार्सीधान फल्ने फाँट बगरमा परिणत भएको छ । भर्खर धान रोपेर गोड्ने तयारीमा रहेका किसान बाढीले खेत पुरिएपछि चिन्तीत भएका छन् । भने स्याउ बगैचा, कोदो, फापर, सिमी रोपेका जग्गा समेत बगाएपछि किसानले खाद्यन्न खाद्यन्न उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
२०७९ सालमा आएको भिषण बाढी पहिरोको झल्को दिने आएको बुधबारको बाढीले जिल्लाका धेरै ठाउँको कृषि क्षेत्रमा क्षति पुराएको छ । बाढीले कृषि क्षेत्रमा क्षति पुराएपछि तातोपानी गाउँपालिकाले तत्काल राहत उद्दार तथा पर्नुस्थापनाको कामलाई अघि बढाएको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बाढी प्रभावित क्षेत्रमा एका विहानै पुगेर घटनाको अवलोकन गरी तत्काल कार्यपालिका बैठक बसालेर सिँचाई कुलो मर्मतका लागि निर्णय समेत गरेका छन् ।

कार्यपालिका बैठकबाट उक्त क्षेत्रको सिँचाई कुलोमा क्षति पुगेका मर्मतका लागि दुई लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।
उनले भने,‘विपदमा तत्काल राहत पुर्नस्थापनाका काम गर्दा जनताले सरकार भएको महसुश गरुन भनेर हामी याक्सनमा छौ । कुलो मर्मतका लागि बजेट छुटयाई सकेका छौ । ढल निकासाका लागि पनि वडाले पहल गरेमा पालिकाले लगानी गर्ने सहमति भएको छ ।’
साथै बाढीले ६ नम्बर वडामा पुराएको क्षतिको एकिन विवरण संकलनका लागि कृषि विकास कार्यालयको टोलीलाई स्थलगत अध्ययन गरी प्रतिवेदन ल्याउन समेत निर्देशन दिई सकेको अध्यक्ष चौलागाँईको भनाई छ । उनका अनुसार सिँचाई कुलो मर्मतलाई द्रुत गतिमा अघि बढाउन शुक्रबार (आज)बाटै दुबै तर्फबाट काम अघि बढाउने तयारी भएको छ ।
तातोपानी गाउँपालिका वडा नं ६ का अध्यक्ष विशाल खड्काले बाढी पहिरोबाट चार हेक्टर बढी रैथाने बाली लगाएको जग्गामा क्षति भएपछि झण्डै एक सय ५० जना भन्दा बढी किसानले प्रत्यक्ष रुपमा क्षति व्यहोरेको बताए ।
विहानै बाढी प्रभावित क्षेत्रमा पुगेर किसानसंग भेटेको पालिकाले पनि तत्काल सिँचाई कुलो मर्मतका लागि बजेट छुटयाएको उल्लेख गरे । भविष्यमा पनि बाढी आउने जोखिम भएकाले ढल निकासाका लागि स्थानीयसंग समन्वय गरेर जग्गा उपलब्ध भएमा ढल निकासाका लागि समेत पालिकाले लगानी गर्ने वडाध्यक्ष खड्काको भनाई छ ।

अप्रत्यासी रुपमा आएको बाढीले किसानलाई घाटा परेकाले उत्पादनमा गिरावट आउने निश्चित देखिएको छ । भर्खर मार्सीधान रोपेका खेत पुरिएका छन् । कृषि विकास शाखाले क्षतिको एकिन तथ्यांक संकलन गरी प्रतिवेदन पालिकामा बुझाएपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा पालिकाले पछि निर्णय गर्ने छ ।
यदपी, भर्खर रोपेरका खेतमा सिचाई नपुराएपछि रोपेका धान पनि सुक्ने भएकाले सिँचाइ कुलो मर्मतमा विशेष जोड दिइएको छ । यता रावतबाडा, धौलापानीका किसानले तत्काल राहत उद्दारका कार्यक्रम ल्याउन पालिका समक्ष माग गरेका छन् ।




