दलित महिला लैङ्गिक शसक्तिकरणमा जोड दिन अभिमुखीकरण 

जुम्ला । जुम्लामा  दलित महिला लैङ्गिक शसक्तिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दलित समुदायका महिला माथि हुने विभेद, हिंसा न्युनिकरणा गर्दै विभेद विरुद्व दलित महिलालाई सचेत गराउन अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । 

चन्दननाथ नगरपालिकाको सहयोग तथा दलित सेवा संघ शाखा कार्यालय जुम्लाको आयोजनामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा चन्दननाथ नगरपालिकाका दलित महिलाहरुको उल्लेखीय सहभागिता रहेको छ । 

कार्यक्रममा राष्टि्य मानव अधिकार आय़ोग जुम्लाका प्रमुख कल्पना आर्चाय नेपालले दलित महिलाको अबस्था, विभेदको स्थिती र कानुनी प्रावधानका विषयमा प्रशिक्षण दिएकी छन् । 

त्यस्तै अधिवक्ता नन्द बहादुर खत्रीले जातिय भेदभाव तथा छुवाछुत विरुद्व संवैधानिक व्यवस्था अधिकार एवम् उपचार विधि र क्षतिपुर्तिबारे प्रस्तुतीकरण गरेका थिए ।  

जातका आधारमा कुनै पनि विभेद गर्न नमिल्ने र यदी कसैले गरेमा कानुन अनुसार कडा दण्ड सजाय हुने उल्लेख गरे । भने जुम्लाका प्रहरी प्रमुख डिएसपी चिरन्जीवि दाहालले पनि दलित महिला शसक्तिकरण तथा विभेदको स्थितबारे प्रस्तुतीकरण दिने कार्यतालिका छ ।  साथै साईबर अपराधका विषयमा समेत जानकारी गराएका छन् ।

दलित सेवा संघ जुम्लाका अध्यक्ष भिम बहादुर नेपालीले देशका थुप्रै व्यवस्था परिवर्तन भएपनि दलित समुदाय अझै उपेक्षामा रहेको बताए । पछिल्लो समय जुम्लामा जातिय विभेदका घटनाहरु बढ्दै गएपछि सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको उल्लेख गरे । 

´दलित समुदायबीच एकता नहुनु, दलितका सवालमा नीति कडा भएपनि व्यवहारमा उस्तै हुनु मुख्य चुनौतीको विषय बनेको छ`,अध्यक्ष नेपालीले भने,´विभेदको जालोमा दलित महिला बढी छन् । जातका आधारमा कुनै विभेद गर्न मिल्दैन भन्ने स्पष्ट कानुन हुँदा हुदै पनि विभेदका घटना बढीरहेका छन् । कानुनी अज्ञानता क्षाम्य हुदैन भन्ने कुरा अब सबै बुझाउन जरुरी छ ।`

नगरपालिकाको सहयोगमा दलित महिलाहरुको शसक्तिकरण तथा जातिय विभेद छुवाछत विरुद्वका कानुनी दण्ड सजाय तथा क्षतिपुर्तिका विषयमा बुझाउन अभिमुखीकरणको आयोजना गरिएको अध्यक्ष नेपालीको भनाई छ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस