सन्तोष खत्री शीर्ष डिभिजन फुटबल खेल्न भुटान प्रस्थान

जुम्ला — नेपाली फुटबलका प्रतिभावान खेलाडी सन्तोष खत्री भुटानको शीर्ष डिभिजन फुटबल प्रतियोगिता भुटान प्रिमियर लिग (BPL) खेल्न भुटान प्रस्थान गरेका छन्। नेपाली घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खत्रीको यो वैदेशिक यात्रा नेपाली फुटबलका लागि अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

खत्रीले नेपाल सुपर लिग (NSL) अन्तर्गत ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम डी मेचीबाट प्रभावशाली प्रदर्शन गरिसकेका छन्। यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब तथा संकटा क्लबबाट खेल्दै उनले नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्। मिडफिल्ड र डिफेन्स दुवै स्थानमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको क्षमता नेपाली फुटबलको बलियो सम्पत्तिका रूपमा लिइन्छ।

यसैबीच, जुम्लाका युवा फुटबल खेलाडी नरजीत शाहीले सन्तोष खत्रीलाई भुटान प्रिमियर लिगका लागि सफल यात्राको शुभकामना दिएका छन्। शाहीले खत्रीले भुटानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली फुटबलको प्रतिष्ठा अझ उँचो बनाउने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय लिगमा अवसर पाउनु नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको विषय भएको पनि बताएका छन्।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस