जुम्लाको गुठिचौर गाउँपालिका–२ का कोल्ते र गोठिगाउँका बालबालिकाका लागि माध्यमिक शिक्षा हासिल गर्नु सहज छैन। गाउँमा कक्षा ५ सम्म मात्र पढाइ हुने भएकाले कक्षा ६ देखि माथि अध्ययन गर्न उनीहरूलाई गुठिचौर गाउँपालिका–१ स्थित खड्कदेवी माध्यमिक विद्यालय, मणिसाँघुसम्म दैनिक लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
हरेक बिहान सबेरै घरबाट निस्कने विद्यार्थी करिब दुई घण्टा हिँडेर विद्यालय पुग्छन्। विद्यालयको पठनपाठन सकिएपछि पुनः त्यत्तिकै समय लगाएर घर फर्किनुपर्छ। यसरी दिनको चार घण्टा बाटोमै बित्ने हुँदा उनीहरूको अध्ययन, गृहकार्य, विश्राम तथा अन्य सिर्जनात्मक गतिविधि प्रभावित हुँदै आएको छ।
विद्यार्थी प्रतिका बोहोरा भन्छिन्, “विद्यालय पुग्दासम्म शरीर थाकिसकेको हुन्छ। घर फर्किँदा साँझ परिसकेको हुन्छ। त्यसपछि गृहकार्य गर्न र अर्को दिनको पढाइ दोहोर्याउन पर्याप्त समय मिल्दैन।” अर्की विद्यार्थी सञ्चिता बोहोराले पनि लामो पैदल यात्राका कारण कक्षामा ध्यान केन्द्रित गर्न कठिन हुने बताइन्।
गोठिगाउँका विद्यार्थीहरूले पनि वर्षौंदेखि यही समस्या झेलिरहेका छन्। वर्षायाममा हिलाम्मे बाटो, खोला बढ्ने र चिप्लो गोरेटोका कारण विद्यालय पुग्नु झन् जोखिमपूर्ण हुने गरेको उनीहरूको अनुभव छ। मौसम प्रतिकूल हुँदा कहिलेकाहीँ विद्यालय नै छुट्ने अवस्था समेत आउने गरेको छ।
अभिभावक भीमबहादुर बोहोराले गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालन हुन सके बालबालिकाको समय बच्ने, सुरक्षाको जोखिम घट्ने र पढाइमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार साना बालबालिकालाई दैनिक टाढा पठाउँदा अभिभावकहरू सधैँ चिन्तित रहनुपर्ने अवस्था छ।
स्थानीयवासीले कोल्ते र गोठिगाउँका आधारभूत विद्यालयलाई क्रमशः माध्यमिक तहमा स्तरोन्नति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार गाउँमै माध्यमिक शिक्षा उपलब्ध भए बालबालिकाले कठिन पैदल यात्रा गर्नु नपर्ने, विद्यालय छोड्ने दर घट्ने र शैक्षिक उपलब्धिमा उल्लेखनीय सुधार आउनेछ।




