जुम्ला – नेपाली कम्युनिस्ट पार्टी हिमा गाउँपालिकाले जनताका दैनिक समस्या, गाउँ–बस्तीका आवश्यकता तथा स्थानीय विकासका सवाललाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले “हिमा जनसंवाद अभियान” सञ्चालनमा ल्याएको छ । भदौ ६ गतेदेखि सुरु भएको उक्त अभियान आगामी फागुन महिनासम्म सञ्चालन हुने जनाएको छ ।
अभियानमार्फत गाउँ–बस्तीमा पुगेर जनताका वास्तविक समस्या पहिचान गर्ने र अभिलेख तयार गरी समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल र समन्वय गर्ने लक्ष्य लिइएको छ । अभियानले जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएर स्थानीय समस्या समाधानमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ ।
अभियानअन्तर्गत पालिकाको नीति, कार्यक्रम तथा बजेट अध्ययन, वडा तथा बस्तीका समस्या अभिलेख, “हाम्रो बस्ती, हाम्रो प्राथमिकता” संवाद, शिक्षा तथा स्वास्थ्य जनसंवाद, किसान तथा कृषि संवाद र युवा तथा रोजगारी संवाद सञ्चालन गरिनेछ ।
त्यसैगरी सहिद परिवार तथा पूर्व जनमुक्ति सेना, पुराना नेता–कार्यकर्तासँग भेटघाट, पूर्वाधार तथा खानेपानीको समीक्षा, महिला तथा सामाजिक सेवा संवाद, पालिकासँग सार्वजनिक प्रश्न–संवाद, अधुरा समस्या तथा योजनाको फलोअप र अन्त्यमा “हिमा जनताको वार्षिक रिपोर्ट” सार्वजनिक गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको छ ।
अभियानले विशेषगरी जनताले भोगिरहेका शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी, पूर्वाधार तथा सामाजिक सेवासम्बन्धी समस्यालाई प्राथमिकताका साथ उठाउने जनाइएको छ । बस्तीस्तरबाट आएका समस्या सम्बन्धित निकायसम्म पु¥याई समाधानका लागि निरन्तर पहल गर्ने अभियानको उद्देश्य रहेको छ ।
अभियानका कमाण्डर तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं हिमा गाउँपालिका, जुम्लाका इन्चार्ज अम्मराज शाही (अम्मरजंग) ले हिमा जनसंवाद अभियान जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र उनीहरूका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने माध्यम बन्ने बताए । उनका अनुसार अभियान केवल समस्या सुन्ने कार्यक्रम मात्र नभई समस्या पहिचान, अभिलेखीकरण, सम्बन्धित निकायसँग पहल, फलोअप तथा त्यसको सार्वजनिक प्रतिवेदनसम्म पुग्ने अभियानका रूपमा अघि बढाइनेछ ।
“जनताको घरदैलोमा पुगेर उनीहरूका वास्तविक समस्या सुन्ने, प्राथमिकता निर्धारण गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने हाम्रो उद्देश्य हो,” इन्चार्ज शाहीले बताए । फागुन महिनासम्म सञ्चालन हुने अभियानले हिमा गाउँपालिकाका विभिन्न वडा, बस्ती तथा समुदायमा पुगेर जनताका आवाजलाई संगठित रूपमा उठाउने र स्थानीय समस्या समाधानमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।




