जग्गा विवादले २ पूल अलपत्र, वर्खामा जोखिम मोलेर यात्रा !

Screenshot

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल जाने नाग्म–गमगडी सडक अन्तरर्गतका दुई वटा पक्की पूल वर्षौदेखी अलपत्र पर्दा यात्रुले सास्ती पाएका छन् । विभिन्न जोखिमयुक्त खोलामा ३२ करोड लगानीमा पूल विभागले १० वटा पक्की पूल निर्माण थालेकोमा हालसम्म २ वटा अलपत्र परेका छन् ।

सडक डिभिजन जुम्लाका अनुसार जग्गा विवादका कारण दुईवटा पक्की पुल वर्षौंदेखि अलपत्र अवस्थामा छन् । जसले गर्दा वर्खायाममा जोखिम मोलेर खोला माथि गाडी गुडीहेका छन् । नाग्म–गमगडी सडकको प्रवेश विन्दु कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमा क्षेत्र बालुवा खोला र कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला खोला पुल जग्गा विवादले अलपत्र परेका हुन् ।

झण्डै पाँच वर्षदेखी निर्माण थालिएको १० वटा पूलको सम्झौता मिती सकिएर पनि पटक पटक म्याद थपिएको छ । अन्य खोलका पूलहरु सम्पन्न भएर संचालनमा समेत आईसकेका छन् । यदपी रोकायाबाडाको पूल निर्माण सम्पन्न भएपनि जग्गा विवादले संचालनमा आउन सकेको छैन् ।

बालुवा खोलामा हिमा गाउँपालिकातर्फ पिल्लर खडा भएको वर्षौं भइसक्यो । पिल्लरका सरियामा खिया लागिसकेका छन् तर कालिकोटतर्फको जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ्न सकेको छैन । पटक पटक जग्गा धनीसंग छलफल गरिएपनि निष्कर्ष निस्केको छैन् । सरकारले बरु डिजाईन, स्टमेट परिवर्तन गरेर पूल अर्को ठाउँमा निर्माण गर्ने तर मुअब्जा दिन नमिल्ने भएकाले जग्गा विवाद सुल्झीएको छैन् ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले धेरै पटक जग्गा धनी, सडक डिभिजन, प्रशासन बीच छलफल गरेका थिए । तर तर जग्गा विवाद टुंग्गोमा नपुग्दा पुल निर्माण अस्तव्यस्त भएको छ । पक्की पूल निर्माण अलपत्र परेपछि हिमा गाउँपालिकाले अस्थायी काठेपूल निर्माण गरेको छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही भन्छन,‘हामीले बनाएको अस्थायी काठेपूलले मोटरसाईकल गुड्न सहज भएको छ । त्यो पनि वर्खाको सिजनमा पानीको बहाफ बढ्दा जोखिम छ । विगतमा बालुवा खोलामा धेरै मोटरसाईकल समेत बगेका छन् । पूल निर्माण गति नलिँदा यात्रुले सास्ती पाएका छन् ।’

उता कनकासून्दरी गाउँपालिकाको गुठिज्युला खोलामा निर्माण हुने पूल अहिलेसम्म निर्माण भएको छैन् । उक्त पुल बनाउँदा खत्याड जाने बाटो बन्द हुने र केही घर भत्काउनुपर्ने भएकोले स्थानीयले जग्गा दिन मानेका थिएनन् । पूलको लम्बाई २० मिटर भएकाले जग्गा व्यवस्थापनमा सकस भएको थियो । जसका कारण पूल निर्माण ढिलाई हुँदा रारा जाने पर्यटकदेखी अन्य सवारी साधनहरु खोलामै गाडी गुडाईरहेका छन् ।

विवाद समधानको चरणमा
यता सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले गुठिज्युला पक्की पूलको विवाद समधान भएर अब निर्माणको प्रक्रियामा रहेको बताए । विगतमा केही समस्या रहेपनि अहिले समधान भएको उनको भनाई छ । यदपी बालुवा खोला पुलको जग्गा विवाद अझै समधान भएको छैन् ।

डिभिजन प्रमुख महतारा भन्छन,‘नाग्म–गमगडी सडकमा १० पक्की पूल बन्दै छन् । अधिकांश सम्पन्न भईसके । एउटा पूलको जग्गा धनीलाई मुअब्जा दिदाँ सबैले माग गर्छन् । त्यो स्वभाविक छ । त्यसैले मुआब्जा एउटै दिन सकिदैन् । एकतिर पिल्लर नै खडा भएको छ । अब टुंगोमा पुग्ने गरी छलफल गर्ने तयारीमै छौ ।’

साथै निर्माण व्यवसायी र कार्यालय बीच केही विषयमा विवाद भएकाले दुई पुलको काम ढिलाई भएको छ । कार्यालयले साईट नदिँदा समयमै काम गर्न नपाएको निर्माण कम्पन्नीले गुनासो गरेको छ । अलपत्र पूल निर्माण गर्न जिल्लास्तरमै छलफल चलाएर निष्र्कष निकाल्नुपर्ने देखिएको छ ।

यता मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडान छ । रावतले केही वर्ष अघिको छलफलमा २५ लाखसम्म मुआब्जा दिनुपर्ने माग राखेका थिए । कालिकाखेतु खोला, बाजागाडा खोला, विष्टबाडा खोला, रोकायाबाडा, पिना खोला, विष्टबाडा, र गमगाड खोलामा पूल निर्माण सम्पन्न भईसकेमा छन् ।

२०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पटक पटक म्याद थपिएको छ । हिम सगरमाथा कन्स्ट्रक्सनले ३२ करोड लागतमा निर्धारित समयमै सम्पन्न गर्ने गरी १० वटै पक्की पुलको ठेक्का पाएको थियो । ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगडी सडकका विभिन्न खण्डमा पक्की पुल बनेपछि यात्रा सहज हुने स्थानीयको आशा छ । यदपी पूलहरु अलपत्र पर्दा स्थानीयहरु निरास छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस