जङ्गली जडीबुटी (सतुवा) खाँदा जुम्लामा ६५ वर्षीय वृद्धको मृत्यु

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ बाईराँका निवासी ६५ वर्षीय दलजित सार्कीको जङ्गली जडीबुटी खाएपछि मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार राती करिब ३:१० बजे सार्कीले वनजङ्गलमा पाइने सतुवा नामक जडीबुटी खाएका थिए। त्यसको केही समयपछि उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उपचारका लागि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको थियो।

प्रतिष्ठानमा चिकित्सकको निगरानीमा उपचार भइरहेकै क्रममा राती करिब ३:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार उनले उक्त जडीबुटी किन र के उद्देश्यले सेवन गरेका थिए भन्ने कारण अझै खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सतुवा हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी भए पनि यसको गलत पहिचान, अनुचित प्रयोग वा विषालु वनस्पतिसँग झुक्किएर सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अपरिचित जडीबुटी प्रयोग नगर्न विज्ञहरूले सुझाव दिँदै आएका छन्।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिवार
प्रतिक्रिया दिनुहोस