जुम्लामा लक्ष्यभन्दा १६ करोड कम राजश्व संकलन

आठ वर्षदेखी राजश्व संकलन सधै ओरालो,गत आवमा १६ करोडले घट्यो राजश्व

जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछि दोस्रो ठुलो शहरका रुपमा रहेको जुम्लामा आर्थिक गतिविधि बढ्दै गएपनि राजश्व संकलनमा वर्षेनी गिरावट आउने गरेको छ । यहाँको व्यापारिक सम्भावनालाई मध्यनजर गर्दै राजश्व विभागले वार्षिक लक्ष्य तोकेपनि संकलन भने सधै न्युन हुने गरेको छ ।

एकातिर हरेक वर्ष लक्ष्य बढाउने, अर्कोतिर साना तथा उत्पादनमुखी उद्योग खारेज हुदै जाने, व्यापारीले आम्दानी लुकाएर राजश्व बुझाउने, करदाता शिक्षा प्रभावकारी नहुने लगायतका कारण राजश्व संकलनमा गिरावट आउने गरेको छ । जुम्ला,कालिकोट र मुगु गरी तीन जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२÷०८३ मा वार्षिक लक्ष्य भन्दा १६ करोडले घटेर ४८ करोड मात्रै राजश्व संकलन गरेको छ ।

गत आवमा जुम्ला सहित तीन जिल्लाका लागि वार्षिक लक्ष्य ६४ करोड ४८ लाख ७४ हजार तोकिएको थियो । तर असार मसान्तसम्मा कुल ४८ करोड एक लाख २२ हजार मात्रै राजश्व उठेको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले बताउनुभयो । उहाँका अनुसार तोकिएको लक्ष्य अनुसार झण्डै १६ करोड बढी राजश्व संकलन हुन सकेन् ।

संकलन भएको ४८ करोड राजश्व मध्य सबैभन्दा बढी आयकर तर्फ ३५ करोड ८१ लाख ५२ हजार, मुल्य अभिबृद्धि कर तर्फ ९ करोड ८८ लाख ९ हजार, अन्तःशुल्क तर्फ ८८ लाख ५८ हजार, अन्य शिर्षक तर्फ १ करोड ४३ लाख ३ हजार गरी ४८ करोड राजश्व संकलन भएको छ ।

त्यस्तै करदाता संख्या वर्षेनिक बढेपनि राजश्व भने बढ्न सक्नुलाई कार्यायलेनै दुखद पक्षका रुपमा लिएको छ । यदपी कर असुली प्रभावकारी बनाउन करदाता शिक्षादेखी व्यवसायीक क्षेत्रको अनुगमन तथा निरिक्षणलाई प्रथामिकता दिदै आएको प्रमुख घिमिरेले उल्लेख गरे ।

जुम्ला,मुगु र कालिकोट सहित गरी कुल १९ हजार ३९९ जना करदाता रहेका छन् । जसमध्य आयकरतर्फ १७ हजार ८४ जना, मुल्य अभिबृद्धि करतर्फ एक हजार ७ सय ५० जना र अन्तःशुल्क तर्फ ५६५ जना करदाता रहेका छन् । कर असुलीलाई प्रभावकारी बनाउन लागि परेपनि विभित कारणले पछिल्ला वर्षमा लक्ष्यनुसारको राजश्व संकलनमा कठिनाइ भएको देखिएको छ ।

अघिल्लो आव २०८१÷८२ वार्षिक लक्ष्य ६३ करोड ७१ लाख ४ हजार राखिए पनि संकलन करिब ५० करोड मात्रै भएको थियो । देशको आर्थिक विकासको मुख्य आधार कर असुली हो । कर असुली बिना देशको आर्थिक समृद्धी,रोजगारी बृद्धि लगायतका कार्य असम्भव जस्तै हुन्छन् । कर्णाली जस्तो आन्तरिक आय कमजोर हुने क्षेत्रमा नियमति संकलन हुनु पर्ने राजश्व पनि संकलन नहुँदा आर्थिक संकटको सम्भावना निम्तीएको छ ।

यहाँको व्यवसायीक क्षेत्र,व्यापार,उद्योगको अबस्था हरेर वार्षिक राजश्वको लक्ष्य तोकिन्छ । तर जुम्लामा अनुदानमुखी उद्योग धेरै रहेको,ठुला उद्योग नभएकोले आर्थिक गतिविधि कमजोर छ । त्यसैले पनि राजवश्व संकलनमा ठुलो गिरावट आएको छ ।

कून वर्षमा कति राजश्व उठ्यो ?
कर्णाली प्रदेशका तीन जिल्ला जुम्ला, कालिकोट र मुगुबाट बितेको ८ वर्षमा तीन अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाको विवरणनुसार आव २०७५÷०७६ देखि ०८२÷८३ सम्मका ८ वर्षमा तीन जिल्लाबाट गरी झण्डै ३ अर्बबढी राजस्व संकलन भएको देखिन्छ ।

जसअन्तरर्गत आव गत आव २०८२÷०८३ मा ४८ करोड, आव २०८१÷०८२ मा ५० करोड राजश्व संकलन भएको देखिन्छ । २०८०÷८१ मा लक्ष्यको १३ करोडले घटेर कूल ४५ करोड ९९ लाख ९८ हजार राजश्व संकलन भएको छ । भने, आर्थिक वर्षमा २०७९÷०८० मा लक्ष्यभन्दा ३२ लाख ९० हजारले घटेर राजस्व उठेको छ ।

वार्षिक लक्ष्य ४७ करोड ५६ लाख ८५ हजार रहेकोमा असार मसान्तसम्म ४७ करोड २३ लाख १८ हजार राजस्व उठेको थियो । जसमा लक्ष्यको ३२ लाख राजस्व उठ्न सकेन । आर्थिक मन्दीले व्यापार व्यवसाय संकटमा पर्नु, अर्थतन्त्र चलायमान नहुनुले निरन्तर दुई वर्षको राजश्व संकलन घटेको छ भने केही अनुदानमुखी उद्योगका कारण पनि राजस्व संकलनमा गिरावट आएको छ । अनुदानकै लागि उद्योग दर्ता गर्ने र अनुदान सकिएसंगै उद्योग बन्द गर्ने प्रबृत्तिको असर पनि राजश्व संकलनमा परेको छ । राजश्व बृद्धि गर्न,करदाता शिक्षा संचालन,दर्ता गरेर मात्र व्यवसाय संचालन गर्न कार्यालयले अभियान चलाएपनि राजश्व संकलनको लक्ष्य भेटाउन सकेको छैन् ।

त्यस्तै आव ०७५÷०७६ मा १० करोड ८८ लाख ६९ हजार राजस्व संकलन गरेको देखिन्छ भने आव २०७६÷०७७ मा कोरोना कहरका बीच पनि लक्ष्यभन्दा बढी १३ करोडले बढेर २३ करोड २२ लाख ५५ हजार राजस्व संकलन भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७७÷०७८ मा २५ करोड ५४ लाख लक्ष्य राखिएकोमा ३२ करोड ९६ लाख ३५ हजार राजस्व संकलन भएको थियो ।

जुन लक्ष्य भन्दा ७ करोड बढी राजश्व उठेको हो । भने आर्थिक वर्ष २०७८÷७९ मा कोरोनाले थलिएको व्यापार नउठेकै अवस्था पनि ३३ करोड ९ लाख लक्ष्य राखिएकोमा ७ करोडले बढेर ४१ करोड २९ लाख ९० हजार राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस