हामी नेपालीहरूको एउटा विडम्बना छ—कुनै पनि कामको मूल्याङ्कन र विश्लेषण सकारात्मक सोचबाट होइन, नकारात्मक दृष्टिकोणबाट सुरु गर्छौँ । तर नकारात्मक सोचको जगमा उभिएर सकारात्मक निष्कर्षमा पुग्न सकिँदैन ।
हामी गर्वका साथ भन्छौँ—“Buddha Was Born in Nepal.” तर प्रश्न उठ्छ, भगवान् गौतम बुद्धका उपदेश, शिक्षा र शान्तिको मार्गलाई हामीले आफ्नो व्यवहारमा कति आत्मसात् गर्न सकेका छौँ ? यो प्रश्न आज पनि अनुत्तरित छ ।
भगवान् बुद्धलाई समेत आफ्नो स्वार्थअनुसार बजारमा कौडीको भाउमा प्रयोग गर्न पछि नपर्ने हामीहरू व्यक्तिगत ईष्र्या, कुण्ठा र पूर्वाग्रह त्यागेर सकारात्मक सोचको विकास गर्न भने किन तयार हुँदैनौँ ?
आनी छोइङ डोल्मा न मेरा पूर्वपरिचित हुनुहुन्छ, न उहाँसँग मेरो कुनै नाता–गोता छ । तर उहाँलाई तिब्बती भएको आरोप लगाउने र स्रोतबिनै अकुत सम्पत्तिको चर्चा गरेर विवादमा तान्ने प्रयास देख्दा दुःख लाग्छ । कुनै पनि व्यक्तिमाथि प्रश्न उठाउनु गलत होइन, तर प्रमाणबिना आरोप लगाउनु र शारीरिक बनावटका आधारमा राष्ट्रियता वा पहिचानमाथि प्रश्न गर्नु कति न्यायोचित हो ?
व्यक्तिको मूल्याङ्कन उसको नाकको आकार, अनुहारको बनावट वा जातीय पहिचानका आधारमा होइन । उसको कर्म, योगदान र आचरणका आधारमा हुनुपर्छ ।
आनी छोइङ डोल्माले सामाजिक क्षेत्रमा सक्रिय रहँदै गरिब, विपन्न र असहाय बालबालिकाको शिक्षाका लागि योगदान गर्नु, गीत–सङ्गीतका माध्यमबाट विश्वभर भगवान् गौतम बुद्धको दर्शन र शान्तिको सन्देश फैलाउनु के गलत काम हो ? यदि यी काम गलत हुन् भने यस्ता काम गर्न सक्ने क्षमता सबै नेपालीलाई प्राप्त होस् भनेर कामना गर्नुपर्ला !
हामीले ‘शतीले सरापेको देश नेपाल’ भन्ने उखान सुन्दै आएका छौँ । कहिलेकाहीँ समाजमा देखिने नकारात्मक प्रवृत्तिले यो उखान सम्झन बाध्य बनाउँछ । अरूको राम्रो कामको प्रशंसा गर्न हिचकिचाउने, योगदान भन्दा कमीजोरी खोज्न व्यस्त रहने र प्रमाणभन्दा आरोपलाई प्राथमिकता दिने प्रवृत्तिले हामीलाई कहाँ पु¥याउँछ ?
लुम्बिनी विकास कोषको सञ्चालन, राजनीतिक नियुक्ति, पदाधिकारीको छनोट र विगतका कार्यसम्पादनबारे प्रश्न उठाउन सकिन्छ । त्यहाँ भएका कामको निष्पक्ष समीक्षा हुनुपर्छ । तर विगतका कमजोरीको आलोचना गर्दा पनि प्रमाण, तथ्य र विवेकलाई आधार बनाउनुपर्छ । एउटा व्यक्तिलाई विवादमा तान्दैमा संस्थागत समस्या समाधान हुँदैन ।
आनी छोइङ डोल्माको राष्ट्रियता, सम्पत्ति वा व्यक्तिगत कानुनी विषयमा कुनै वास्तविक प्रश्न छन् भने सम्बन्धित निकायले प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गर्नुपर्छ । कानुन उल्लङ्घन भएको प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ । तर अनुसन्धान अघि नै कसैलाई दोषी ठहर गर्नु न्यायको सिद्धान्त विपरीत हुन्छ ।
पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा चित्रण गरेको सन्देशलाई सम्झौँ । विविधता हाम्रो कमजोरी होइन, हाम्रो पहिचान र शक्ति हो । अनुहार, भाषा, जातीय पृष्ठभूमि वा अनुमानका आधारमा कसैलाई पराया ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ ।
अन्ततः लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल मात्र होइन, विश्व शान्तिको प्रतीक पनि हो । यसको विकास, संरक्षण र व्यवस्थापन राष्ट्रिय गौरवसँग जोडिएको विषय हो । यस्तो महत्वपूर्ण जिम्मेवारीमा नियुक्त हुने व्यक्तिको मूल्याङ्कन पूर्वाग्रहका आधारमा होइन, योग्यता, इमानदारी, कार्यक्षमता र परिणामका आधारमा गरिनुपर्छ ।
आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिइएको सन्दर्भमा पनि हाम्रो अपेक्षा यही हो—उहाँले भगवान् बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैलाउने, लुम्बिनीको विकासमा योगदान पु¥याउने र संस्थाको गरिमा बढाउने काम गर्नुहोस् ।
व्यक्तिप्रति अन्धसमर्थन होइन, निष्पक्ष मूल्याङ्कन गरौँ । आरोप होइन, प्रमाण खोजौँ । घृणा होइन, सद्भाव फैलाऔँ । नकारात्मकता होइन, सकारात्मक सोचको विकास गरौँ ।
आनी छोइङ डोल्मालाई कार्यकाल सफलताको हार्दिक शुभकामना !
बुद्धको भूमि नेपालमा बुद्धकै शान्ति, करुणा र सहिष्णुताको अभ्यास गर्न सकौँ ।
जय नेपाल !
लेखक : नेपाली काँग्रेस पार्टी जुम्लाका उपसभापति हुन्




