पर्यटकको तान्दै सिंजामा बनेको नेपालको नक्सा

जुम्ला– नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगुस्थित रारा तालमा दैनिक डेढ सय आन्तरिक र बाह्य पर्यटक सडक यातायातबाट रारा पुग्छन् । रारा जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक हुदै जाने अधिकांश पर्यटक जुम्लाको सिंजा गाउँपालिका–३ स्थित राईकेडाँडामा बनेको नेपालको विशाल नक्सा देखेपछि टपक्क रोकिन्छन् । मोटरसाइकलदेखि गाडीमा यात्रा गरेका सबै पर्यटकको ध्यान विशाल नक्साले तान्छ ।

राईकेडाँडामा निर्माण गरिएको विशाल नक्साले पर्यटकलाई आर्कषण गर्नुका साथै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको सन्देश पनि दिएको छ । नेपाली खस भाषा, साहित्य संस्कृति तथा विष्टबाडामा निर्माण भएको खस संग्रहालयपछि अहिले नेपालको नक्साले जुम्लाको पर्यटन प्रवर्द्धनमा इँटा थपेको छ । ममता निर्माण सेवाले ५२ लाख लगानीमा १५० मिटर लामो र ४५ मिटर चौडा नक्सा निर्माण गरेको हो ।

सुरुमा १ करोड बजेट लागत अनुमान गरिएको नक्सा ठेक्का प्रक्रियाबाट ५३ लाखमा निर्माण भएको थियो । सिंजा क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने लक्ष्यसहित निर्माण भएको नक्साले छोटो समयमा पर्यटकलाई आकर्षित गरिरहेको छ । जुम्ला तातोपानी–२ का दीपक परियार पहिलो पटक रारा जाँदा बाटोमा नक्सा भेटाएपछि रोकिएर फोटो भिडियो खिचेको बताउँछन् । बाहिरबाट आउने मोटरसाइकल तथा जीपका यात्रु झरेर फोटो र भिडियो खिच्नेको लर्को लाग्ने गरेको उनले सुनाए ।

नाग्म–गमगडी सडकको छेउबाट देखिने नेपालको नक्साले पर्यटकको ध्यान खिच्दा त्यस क्षेत्रमा पर्यटकीय गतिविधि चलायमान बनेको छ । रारा जाने पर्यटक मात्र नभई नेपालको नक्सा हेर्न मात्रै सिंजासम्म नेपालका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेको सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थबहादुर वडले जानकारी दिए । पुस्तकमा पढ्दै आएको नेपालको विशाल नक्साको आकृतिसँग फोटो खिचाउन आउने पर्यटकको रेकर्ड राख्नेदेखि अन्य व्यस्थापन गर्न बाँकी रहेको उनको भनाइ छ ।

२०८२ वैशाख ७ गते पूर्वप्रतिनिधिसभा सदस्य विनिता कठायतले नेपालको भौगोलिक नक्सा निर्माणको शिलान्यास गरेकी थिइन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको समन्वयमा पूर्वसांसद विनिता कठायतले बजेट विनियोजन गरेकी थिइन् । नक्साले ऐतिहासिक सिंजा क्षेत्रलाई नयाँ पर्यटकीय पहिचान दिन थालेको छ । सामाजिक सन्जालमा नक्सासँग तस्बिर खिचेर राख्ने र भिडियो सार्वजनिक गर्ने क्रम बढेको छ, जसले राइकेडाँडाको चर्चा स्थानीय क्षेत्रबाट बाहिर फैलिन थालेको हो

विगतमा प्रयोगविहीन राइकेडाँडामा नक्सा बनाएर पर्यटन गन्तव्य बन्दा स्थानीय पनि उत्साहित छन् । सिंजा गाउँपालिका अध्यक्ष धितालले डीपीआर तयार गरी संघीय सरकारसँग बजेट मागपछि स्वीकृत भएलगत्तै विशाल नक्सा निर्माण भएको जानकारी दिए । पर्यटक आवागमन बढ्न थालेपछि गाउँपालिकाले राइकेडाँडालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अघि सारेको उनले उल्लेख गरे ।

चालू आर्थिक वर्षमा डाँडामै नेपालको राष्ट्रिय झन्डा निर्माणका लागि तीन लाख रुपैयाँ छुट्याइएको छ । ‘खाली डाँडालाई कसरी सदुपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने उद्देश्यले योजना बनाएका हौं’, अध्यक्ष धितालले भने । नक्सा निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का आह्वान गरेको थियो । खस भाषा र सभ्यताको ऐतिहासिक थलोका रूपमा परिचित यस क्षेत्रमा नेपालको बृहत् नक्साले पर्यटन सम्भावनालाई थप उजागर गरेको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस