जुम्ला — लागूऔषध ब्राउन सुगरसहित जुम्लामा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुम्ला बजारबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्लीका २३ वर्षीय हिमाल शाही र २१ वर्षीय सुनील कुमार शाही रहेका छन्।
मंसिर २ गते दिउँसो करिब ४ः४५ बजे चन्दननाथ नगरपालिका–५ स्थित जुम्ला बजारमा हिँडिरहेको अवस्थामा शंकाका आधारमा जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थलाई मान्यताप्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल १८० मिलिग्राम रहेको छ। उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर सोही दिन जिल्ला अदालत जुम्लामा उपस्थित गराइएको थियो।
अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।
बरामद पदार्थको परीक्षणबाट पुष्टि हुन बाँकी रहेकाले त्यसको प्रकृति तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




