जुम्ला — मानव अधिकारको पक्षमा आवाज उठाउने र उल्लङ्घनका घटनाको निगरानी गर्ने युवाहरूलाई सुरक्षित रूपमा जिम्मेवारी निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमा पाँचदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ।
ग्रामीण युवा अभियान नेपाल (रोयम नेपाल) को आयोजनामा तथा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यमा सञ्चालित तालिममा कर्णालीका १० जिल्लाबाट २० जना युवा मानव अधिकार रक्षक सहभागी भएका छन्। प्रत्येक जिल्लाबाट दुई जनाको सहभागिता रहेको तालिम चौथो दिनमा पुगेको छ।
‘युवा मानव अधिकार रक्षकका लागि समग्र सुरक्षा क्षमता अभिवृद्धि तालिम’ नाम दिइएको कार्यक्रममा मानव अधिकारको संरक्षणसँगै रक्षकहरूको व्यक्तिगत तथा संस्थागत सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयलाई केन्द्रमा राखिएको छ।
मानव अधिकार रक्षकहरूले आफ्नो कार्यक्षेत्रमा काम गर्दा धम्की, दबाब, दुर्व्यवहार तथा विभिन्न किसिमका जोखिम सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर तालिमको पाठ्यक्रम तयार गरिएको आयोजकले जनाएको छ। सहभागीहरूलाई मानव अधिकारसम्बन्धी आधारभूत ज्ञानदेखि उल्लङ्घनका घटनाको पहिचान, अनुगमन, तथ्य सङ्कलन र प्रमाणको सुरक्षित अभिलेखीकरणसम्मका विषयमा प्रशिक्षण दिइएको छ।
विशेषगरी पछिल्लो समय महत्त्वपूर्ण बन्दै गएको डिजिटल सुरक्षालाई पनि तालिममा प्राथमिकताका साथ समेटिएको छ। सूचना तथा व्यक्तिगत विवरणको संरक्षण, कार्यक्षेत्रमा देखिन सक्ने जोखिमको विश्लेषण, सम्भावित संकटबाट जोगिने उपाय र व्यक्तिगत तथा संस्थागत सुरक्षा योजना निर्माणबारे अभ्यास गराइएको छ।
यसका अतिरिक्त महिला मानव अधिकार रक्षकले भोग्नुपर्ने चुनौती, मनोसामाजिक सुरक्षा, आत्महेरचाह र संकटको समयमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सहभागीहरूलाई जानकारी दिइएको छ।
सहभागीलाई प्रशिक्षणमा सक्रिय बनाउन समूहगत छलफल, घटना विश्लेषण, भूमिकाअभिनय र व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको छ। जोखिम पहिचानदेखि सुरक्षा योजना निर्माणसम्मका अभ्यासले तालिमबाट प्राप्त ज्ञानलाई वास्तविक कार्यक्षेत्रमा प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष बि.क.ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित नगरी मानव अधिकार संरक्षणको अभियान प्रभावकारी बनाउन कठिन हुने धारणा राखेका छन्। उनका अनुसार रक्षकहरूले विभिन्न चुनौतीबीच काम गर्नुपर्ने भएकाले उनीहरूको शारीरिक, सामाजिक, कानुनी, डिजिटल र मनोसामाजिक सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ।
तालिमको अन्तिम दिन सहभागीहरूले प्राप्त गरेको ज्ञान र सीपको मूल्याङ्कन गरिनेछ। त्यससँगै समग्र सुरक्षा अभ्यास, व्यक्तिगत तथा संस्थागत कार्ययोजना निर्माण, तालिम म्यानुअलको समीक्षा र आगामी दिनमा मानव अधिकार संरक्षणका क्षेत्रमा निर्वाह गर्ने भूमिकाबारे प्रतिबद्धता व्यक्त गरिने कार्यक्रम रहेको छ।
तालिमपछि सहभागी युवाहरूले मानव अधिकार उल्लङ्घनका घटनालाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न, जोखिमको पूर्वपहिचान गर्न, सम्भावित क्षति न्यूनीकरण गर्न तथा चुनौतीपूर्ण परिस्थितिमा आफ्नो सुरक्षा कायम राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने आयोजकको अपेक्षा छ।
मानव अधिकारको संरक्षणका लागि काम गर्नेहरूलाई नै जोखिममा रहनुपर्ने बाध्यताबाट जोगाउँदै उनीहरूको क्षमता र सुरक्षा दुवै पक्षलाई बलियो बनाउने प्रयासले कर्णालीमा मानव अधिकारको क्षेत्रमा काम गर्ने युवा जनशक्तिलाई थप जिम्मेवार र क्रियाशील बनाउने विश्वास गरिएको छ।






