
मंगलबार, १६ माघ २०७४
दैलेख ः महाबु गाउँपालिका–२ बडखोलाका ५५ वर्षीय पहल विक छुवाछतको आरोपमा निर्घात कुटिएका छन् । उनलाई स्थानीय भीमबहादुर रोकाय र खरिगैराका भीमबहादुरका जुवाई, नगेन्द्र खत्रीको समुहले भेदभाव गर्दै मरणासन्न हुने गरी कुटपिट गरेको अधिकारकर्मी अमर सुनारले बताए ।
सोमबार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न पुग्दा उनीहरु बसेको गुन्द्री छोएको भन्दै कुटपिट गरेको पीडित विकले बताए । मुक्काले कुटपिट गरि घाइते बनाएको भन्दै विकले प्रहरीमा उजूरी दिएका छन् । उनको दाहिने आँखा र जीउभर चोट लागेको छ ।
उजुरीको आधारमा कुटपिटमा संलग्न रोकाय र खत्रीलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा झिकाइएको मुद्दा शाखा प्रमुख सइ चेतराज पन्तले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार