डेढ सय वर्षपछि आज ’ब्लू मुन’मा खग्रास चन्द्रग्रहण

फाईल फोटो

काठमाडौं ः १ सय ५० वर्षपछि बुधबार पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालबाट पनि देखिने यो चन्द्रग्रहण काठमाडौंमा साँझ ५ बजेर ३३ मिनेटमा सुरु हुनेछ भने राति ८ बजेर ५६ मिनेटमा समाप्त हुनेछ ।‘तर यो दृश्य सुरुमा नेपालबाट देखिने छैन किनकि ५स्३३ मा चन्द्रमा उदाएको हुने छैन । नेपालमा ५स्५५ मा मात्र चन्द्रमा उदाउने भएकाले त्यतिबेला चन्द्रग्रहण लागिसकेको हुनेछ’, ब्लू मुनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको जानकारी दिँदै वरिष्ठ खगोलविद् जयन्त आचार्यले भने।

एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भनिन्छ । चन्द्रग्रहण हेर्न नेपालीले सुरु भएपछि २२ मिनेट पर्खिनुपर्नेछ । उनका अनुसार ग्रहण नेपाललगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजिल्यान्ड, अस्टे«लिया, अफ्रिकाका केही पूर्वी देशहरू, युरोप, रसिया र अलास्काबाट देख्न सकिन्छ तर ब्राजिल, चिली र पश्चिमी अफ्रिकी देशमा बसोबास गर्नेले यो ग्रहण हेर्न पाउने छैनन् ।

खग्रास तथा खण्डग्रास गरी चन्द्रग्रहण दुई किसिमको हुने भए पनि बुधबारको चन्द्रग्रहण खग्रास भएकाले चन्द्रमाको पूरै भाग छेकिएको देखिन्छ । पूरै चन्द्रबिम्ब छेकिएर हुने अर्थात् पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहणलाई खग्रास चन्द्रग्रहण भनिने खगोलविद्को भनाइ छ । खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिकाले मात्र हेर्न हुने बताइएको छ भने मेष, मिथुन, कर्कट, सिंह, वृश्चिक, धनु, मकर र मीन राशिकाले हेरे अशुभ हुने मानिएको छ ।

२१ औं शताब्दीमा ८५ वटा चन्द्रग्रहण लाग्ने जानकारी दिँदै वाल्मिकी क्याम्पसका प्राध्यापकसमेत रहेका आचार्यले बुधबारको चन्द्रग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिने जानकारी दिए । विश्वप्रसिद्घ वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए । यस्तो ग्रहण खगोलविद् र वैज्ञानिकहरूका लागि प्रयोगात्मक प्रक्रिया पुष्टि गर्ने सुनौलो अवसर हुने उनको भनाइ छ । उनले थपे, ‘यस्तो ग्रहणको प्रभाव केवल मानव जातिमा मात्र होइन, पशुपंक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ ।’

धार्मिक विश्वास राख्नेहरूले ग्रहणको स्पर्श र मोक्ष (सकिने) मा नदी, तलाउ, कुण्डमा गई ग्रहण नुहाएर शुद्घ हुने गर्छन् । ग्रहणका बेला साधना गर्दा सिद्धि पाइने विश्वासमा तान्त्रिकहरू तन्त्रसाधना र अघोरीहरू मन्त्र साधना गर्छन् । नांगो आँखाले सूर्यग्रहण हेरे समस्या हुन्छ तर चन्द्रग्रहण सजिलै हेर्न सकिने खगोलविद् बताउँछन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीको प्रयोग गरेर पनि हेर्न सकिन्छ । सामाखुसीस्थित तक्षशिला एकेडेमीले टेलिस्कोपबाट चन्द्रग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति ः १७ माघ २०७४

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस