
सुर्खेत ः कर्णाली प्रदेश सरकारले तिब्बतसँगको हिल्सा नाका छिटै खोल्ने भएको छ । त्यसका लागि संघीय सरकारमार्फत पहल सुरु गरिएको सरकारले जनाएको छ ।
चीनसँग मात्रै सीमा जोडिएको कर्णाली प्रदेशका उत्तरी नाका बन्द छन् । दुई वर्षअघि यहाँका तीनवटा नाका खोल्ने सहमति भए पनि अझै अलमल नै छ । नेपालको तर्फबाट पहल नभएपछि नाका नखुलेको जनाइएको छ । प्रदेश सरकारले उत्तरी नाकालाई प्राथमिकतामा राखेर हिल्साबाट सुरु गर्ने जनाएको छ ।
‘हुम्ला, मुगु र डोल्पाका तीन नाका खोल्नेछौँ । त्यसमध्ये हुम्लाको हिल्सा नाका तत्कालै खोल्छौँ,’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने । कर्णाली करिडोरलाई दुई लेनको बनाएर मुगु र डोल्पाका उत्तरी नाका पनि खोलिने उनको भनाइ थियो ।
सहयोग गर्न सरकारको आग्रह
मुख्यमन्त्री शाहीले प्रदेशलाई समृद्ध बनाउन तयार पारेका योजनाका विषयमा बिहीबार पत्रकारसँग छलफल गरे । केही दिनमै ठोस योजनासहितको श्वेतपत्र जारी गर्ने तयारी भइरहेको पनि बताए । ‘एक वर्ष प्रदेश सरकारको काम हेरिदिनुस्, सही मूल्यांकन गरिदिनुस्, सहयोग गरिदिनुस्,’ शाहीले भने ।
कर्णाली प्रदेशमा अपराधका घटना धेरै हुने गरेको उल्लेख गर्दै घरेलु हिंसा, महिलामाथिका हिंसा, दुव्र्यवहार, भ्रष्टाचारलगायतका विकृति अन्त्य गर्न लागिपर्ने बताए । युवालाई दुव्र्यसनीमा पर्न नदिन रोजगारका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ, सुर्खेतले आयोजना गरेको कार्यक्रममा कर्णाली सरकारका सबै मन्त्री सहभागी थिए ।