कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको लागि स्मारिका सामग्री वितरण  

जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई प्रभावकारी बनाउने र प्रतियोगिताप्रति अपनत्व तथा उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले स्मारिका सामग्री वितरण गरेको छ।

परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाहरूलाई वितरण गरेको हो। प्रतियोगिताको पहिचान र प्रचारलाई थप व्यापक बनाउँदै कर्णालीवासीमा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले स्मारिका सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ।

स्मारिका सामग्री वितरणसँगै आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन र सफल आयोजनाका विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरव, प्रतिष्ठा र अवसरको विषय भएको बताए । उहाँले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण कर्णालीवासीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । 

प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्दै उहाँले दशौँ राष्ट्रिय खेलकुदलाई अपनत्वका साथ ग्रहण गरी यसको स्वागत र सफल आयोजनाका लागि एकजुट हुन सम्पूर्ण कर्णालीवासीमा अपिल गरे । 

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस