
नन्दराम जैसी
जुम्ला । पातारासी गाँउपालिका ४ का मिन बहादुर बुढाको स्याउ बगैचामा रहेका ९० वटा विरुवामा फलेको सबै दाना असिनाले झारेर भुँई लटरम्मै हुँदा उनि पिडाले भक्कानीए । हावाहुरीसँगै ठुलो मात्रामा परेको असिनाले स्याउका दाना झार्दै जाँदा उनको आँखाबाट तप्प तप्प भुँइमा आँशु पनि झर्दै गए । सोमबार साँझ परेको असिना पानिले जुम्ला पातारासी गाँउपालिकाका हजारौ कृषकहरुले लगाएको स्याउखेती नष्ट भएपछि उनले यस्तो पिडा खेप्नु परेको हो ।
‘असिनाले फल र पात झारेको नाङगो विरुवामा हेर्दा साह्रै दुखित हुन्छ, उनले भने, सरोकारवाला निकायबाट राहातको लागि अपेक्षा गरेको छुँ, नत्र यो बर्ष पेट पाल्न महंगो ऋणको भरपर्नुपर्छ, अबको एक बर्ष कसरी घरखर्च चलाउने ।’
स्याउखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका उनिजस्तै त्यहाका हजारौ कृषकको बेदना उस्तै छ । सोमबार साँझ ठुलो मात्रामा परेको असिनाले पातारासी गाँउपालिका तथा चौधबिष क्षेत्रका लाखौ स्याउ विरुवाको फुल तथा चिचिला, दाना झारेपछि त्यहाँ यस बर्षको स्याउखेती नष्ट भएको छ ।
कृषकको स्याउमा बर्षदिनको लगानी असिनाले झारेर नष्ट भएपछि त्यहाँका हजारौ, हजार कृषकहरु चिन्तीत भएका छन् । असिनाले स्याउसँगै आरु, ओखर, खुरपानी लगाएतका सबै फलफुलका विरुवाको फुल र दाना झारेको छ, भने मकै, आलु र गँहुबाली पनि नष्ट गरेको छ ।
पातारासी गाँउपालिका कृषि संयोजक लक्षीराम महतका अनुसार असिना पानिले त्यस क्षेत्रको स्याउबालीमा ९५ प्रतिशत क्षेति पुगेको छ । ‘असिनाले भरर्खर फुल्दै गरेका फलफुलको सबै फुल र दाना झारेर नष्ट पार्यो । चौधबिषमा यस बर्षको स्याउ उत्पादन शुन्यमा झर्छ, यसले कृषकलाई मात्र नभई समग्र जिल्ला र देशलाई घाटा भयो’ उनले भने, ‘फलफुलका विरुवाको बिमा गरेका कृषकले राहात पाँउलान् तर बिमा नगरेका कृषकहरु भने साह्रै मर्कामा परे ।’
गाँउपालिकाको कार्यालयका अनुसार यस बर्ष दैविप्रकोप क्षेत्रमा बजेट विनियोजन नभएकाले कृषकहरुलाई राहात उपलब्ध गर्न नसकिने बताइएको छ । स्याउको आम्दानीबाटै बार्षिक जिविकोपार्जन गर्दै आएका पातारासी ४ का स्याउ कृषक पुर्ण बोहोराले असिनाले स्याउबाली नष्ट पारेपछि अब परिवार पाल्न कालापहाड जानुुको विकल्प नरहेको बताए । ‘मैलै लगाएको ८० वटा विरुवा फल्थ्यो, त्यसैको आम्दानीबाट बार्षिक रुपमा छोराछोरीको पढाई र घरखर्च चलाउथेँ । यस बर्ष स्याउबाली नष्ट भएपछि चिन्ताले सताएको छ, उनले भने ।’