धरान । छोरी जन्माएको आरोपमा श्रीमानबाट खान नदिएर लखेटिएकी १३ वर्षीया आमा ममता मरिकसहित उनको नाबालिका छोरीको उपचारका लागि स्थानीय सरकार गढी गाउँपालिकाले जिम्मा लिएको छ ।गढी गाउँपालिकाको सत्तेरझोरा होलैया माइती भएकी ममतालाई मुटु र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको छ ।
सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खान नपाएर उनलाई कुपोषण समेत भएको छ । सोेमबार कोशी अञ्चल अस्पताल लगिए पनि बेड अभाव भए पछि नोबेल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिएको थियो । उनको छातीमा इन्फेक्सनका कारण अवस्था झन् गम्भीर रहेको चिकित्सकले बताएपछि थप उपचारका लागि बिहीबार नै काठमाडौंस्थित गंगालाल हस्पिटल पठाइएको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।
‘हाम्रै पहलमा नोवेलमा भर्ना गरिएको थियो, मुटुमा गम्भीर समस्या देखिए पछि आजै काठमाडौं लगिएको छ ।’– अध्यक्ष यादवले नयाँ पत्रिकासँग भने । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना पोखरेल र स्थानीय युवा राकेश निरौलाको सहयोगमा उनलाई विराटनगर लगिएको थियो । समन्वय गरी आमा र बच्चाको थप उपचारको व्यवस्था गढी गाउँपालिकाले गर्ने गरी मिलाइएको थियो । घर निकाला र उनको स्वास्थ्य अवस्थाको विषयमा समाचार आएपछि गाउँपालिकाले उनको उपचारका लागि चासो दिएको हो ।
गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले १३ वर्षीया आमा र नाबालिका छोरीको उपचार तथा पुर्नस्थापनामा कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । उपचाररत आमा छोरीका लागि गढी गाउँपालिकाले तत्कालका लागि १० हजार नगद समेत बुधबार उपलब्ध गराएको थियो । प्रमुख यादवसहित निर्वा्चित जनप्रतिनिधी र कार्यालयका कर्मचारीले अस्पताल पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् ।
१२ वर्षमा बिहे, १३ वर्षमै आमा
उनलाई स्वास्थ्य उचारका लागि गाउँपालिकाले सहयोग जुटाए पनि छोरी जन्माएकै कारण घर निकाला भएकी ममताको विषयमा कानुनी लडाईका लागि भने हालसम्म कसैले पहल गरेका छैनन् । बच्चा पेटमै हँुदादेखि सिराहाको गोलबजारका श्रीमान प्रकाश मरिकबाट घरेलु हिंसाको शिकार बनेकी ममताका लागि कानुनी लडाई लड्न कसैले चासो देखाएका छैनन् । उनी श्रीमानको कुटाई सहन नसकी एक महिनाको बच्चा लिएर गत वैशाख १ गते माईती आएकी थिईन् ।
बच्चा र आमाको स्वास्थ्य अवस्था गम्भीर भए पछि गत वैशाख २६ गते इनरुवा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । समस्या झन् जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । बालविवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमति हुन् । प्रकाशकी जेठी श्रीमति र दुई छोरी हुँदाहुँदै ममताका फुपाजु सुरेन्द्र मरिकले ढाँटेर बालविवाह गरिदिएका थिए ।