
सुर्खेत ः कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एयरले प्रदेश राजधानी सुर्खेतबाट हवाई सेवा सुरू गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सीता एयरले १५ असारदेखि हवाई सेवा सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । नयाँ पत्रिकामा खबर छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एयर प्रा.लि.का वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालन सम्बन्धि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिवद्धतापत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा, सीता एयरका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंह र प्रमुख बजार व्यवस्थापक रिजेश थापाको उपस्थिति थियो ।
प्रतिबद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीबाट जिल्ला सदरमुकामहरुका विमानस्थलमा डोर्निएर २२८ को जहाजवाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एयरले यस अघि नेपालञ्जबाट हवाई सेवा सञ्चालन गरिरहेको थियो ।
प्रदेश राजधानी सुर्खेतबाट सिधै हवाई यातायात सञ्चालन भएपछि दुर्गम जिल्लाका नागरिकलाई नेपालगन्ज पुगेर सुर्खेत आउनुपर्ने समस्याबाट राहत मिल्नेछ ।
यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकले हवाई सेवाको प्रयोग गरि सुर्खेत आवागमन गर्दा नेपालगन्जदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था थियो । प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले बताए ।