जुम्ला ः जुम्लामा ठेकेदारको लापरवाहीका कारण अधिकांस विकासे योजना अलपत्र परेको गुनासो आएपछि लापरवाही गर्ने ठेकेदारको विवरण संकलन सुरु गरिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले निर्माण कार्यमा ढिलाइ गर्ने व्यवसायीलाई पाँच पाँचदिने अल्टिमेटम दिएका छन् । पाँच दिनभित्र पनि काम सुचारु नगर्ने ठेकेदारलाई पक्राउ गरी कारबाही गर्ने पौडेलले बताए ।
मनपरी निर्माण सामाग्रीको प्रयोग गर्ने र विभिन्न वहाना बनाउँदै काम ठग्ने ठेकेदारको विवरण संकलन गरिएको पौडेलले बताए ।
‘स्थायित्व, समृद्धि र विकासका लागि सरकारले गती लिँदैछ, तस्करी, सिडिकेण्ड र ठेकेदारहरुको सिण्डिकेट तोड्न गृह मन्त्रालयबाट निर्देशन आएको छ’, उनले भने,‘सम्झौता बमोजिम गुणस्तरीय काम गर्न र तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न पहिलो चोटी सचेत गरिएको छ ।’
काम गर्ने विषयमा ठेकेदारलाई स्थानीय तहमा कुनै समस्या उत्पन्न भए प्रशासन सहयोग र समन्वय तयार रहेको तर काम ठग्ने ठेकेदारले कुनैपनि बहानामा उन्मुक्ति नपाउने पौडेलले प्रष्ट पारे ।
ठेकेदारहरुले प्रमुख जिल्ला अधिकारीसँग ६, ६ महिनामा निर्माण सामाग्रीको मुल्य निर्धारण गर्नुपर्ने, समयमै भुक्तानी हुनुपर्ने लगायतका माग राखेका छन् ।