पर्यटन प्रर्वद्धनका लागि जुम्ला–रारा अल्ट्रा म्याराथुन हुदै

जुम्ला  : कर्णाली प्रदेशले पर्यटन बर्ष २०७५ घोषणा बैशाख १ गते प्रधानमन्त्री केपी ओली रारातालबाट गरे । पर्यटन बर्ष घोषणासँगै आन्तरिक तथा बाह्य पर्यटकहरु कर्णाली प्रदेश हुदै मुगुको राराताल र जुम्लाका पर्यटकिय क्षेत्र चन्दननाथ मन्दिर तातोपानी धारा आउने साविक भन्दा बृद्धि हुदै गएका छन् । यसै पर्यटन बर्षलाई टेवा पुग्ने गरी कर्णाली स्पोर्टस क्लब जुम्लाले असार २७ गते जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिता गर्ने भएको छ ।


राष्ट्का लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित कर्णाली प्रदेशका पर्यटकिय क्षेत्रलाई विश्वमा पहिचान गराउने र पर्यटन प्रर्बद्धनका लागि अल्ट्रा म्याराथुन प्रतियोगिताको आयोजना गरेको हो । आगामी असार २७ गते हुने अल्ट्रा म्याराथुन प्रतियोगितामा राष्ट्यि देखि स्थानीय स्तरका ५० जना खेलाडीहरुको सहभागिता रहने भएको कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजार २ हजार ३ सय ५० मिटर उचाई हुदै डाँफे लेक, न्याउरीघाट, चौथा, ४ हजार १७ मिटर उचाई रहेको चुचेमारा मिलीचौर भएर राराताल पुग्ने रहेको छ ।


उक्त प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लव लगायतका खेलाडी सहभागी हुने भएका छन् । पर्यटन प्रर्बद्धन र खेलक्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समिति जुम्ला, चन्दननाथ नगरपालिका लगायतको समन्वयमा ११ लाख लागत बजेटमा उक्त प्रतियोगिता हुने भएको आयोजक क्लवले जनाएको छ ।

म्याराथुन प्रतियोगितामा प्रथम हुने महिला पुरुषलाई ५०÷५० हजार,दोस्रो स्थान हासिल गर्नेलाई महिला पुरुषलाई ३०÷३० हजार र तेस्रो हुने महिला पुरुष प्रतियोगीलाई २०÷२० हजार सहित प्रमाण पत्र र मेडल पुरस्कार उपलव्ध गराईने आयोजक क्लबले जनाएको छ । त्यसैगरी बाहिर जिल्लाबाट आउने खेलाडीहरुलाई आउने जाने यातायात भाडा र खानबस्नेको लागि पनि व्यवस्थापन गरिएको जनाएको छ ।
खेल क्षेत्रको विकासमा प्रदेश सरकारको ध्यान पुगेन
कर्णाली प्रदेशले २०७५ पर्यटन बर्ष घोषणा गरेपनि कर्णालीमा पर्यटक कसरी भित्राउन सकिन्छ भन्ने कुरामा प्रदेश सरकारको ध्यान नपुगेको जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरि श्रेष्ठले बताए । उनले भने पर्यटन क्षेत्रलाई चिनाउने खेल क्षेत्र पनि एक महत्व पुर्ण पाटो भएकोले प्रदेश सरकारले यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने र पर्यटक क्षेत्र चिनाउने गतिविधि गर्नु पर्दछ । पर्यटकिय क्षेत्रको पहिचान गर्ने र तिनैक्षेत्रलाई उजागार गर्नका लागि पर्यटकिय क्षेत्र प्रर्वद्धन गर्ने खालका गतिविधिहरु संचालन गर्नुपर्ने हो तर त्यसो हुन नसकिरहेको भन्दै उनले टिप्पणी गरे । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गत महिना प्रदेशको राजधानी सुर्खेतमा भएको प्रतियोगितामा भेदभाव व्यवहार गरेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । उनले भने सुर्खेत जिल्लाका खेलाडी मात्रै खेलाडी हुन अन्य जिल्ला जस्तो हुम्ला, डोल्पा जुम्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाका खेलाडी नै खेलाडी नभएको जस्तो व्यवहार देखायो । सुर्खेत जिल्लका खेलाडीलाई मात्र व्यवस्थापन गरियो तर अन्य जिल्लाका खेलाडी कुनै पनि व्यवस्थापन नगरिएको प्रति ठुलो आपत्तिको विषय बन्यो आगामी दिनमा यस्ता खालका गतिविधि नहोस उनले भने ।
आयोजक क्लवका सदस्य महेन्द्र कार्कीले यहाँको पर्यटन प्रर्बद्धनका लागि र व्यापार व्यवसाय बढाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक तथा आगन्तुकहरु भित्राउने खालका गतिविधिहरु खेलकुद, व्यापार मेला लगायत आयोजनाहरु गरिरहनु पर्ने बताए । उनले भने यसका लागि निमित्त सरकारी तथा गैरसरकारी निजि क्षेत्रहरु लगायत व्यक्तिगत रुपमा पनि लागीपर्नु हो तर त्यसो हुन सकिरहेको छैन । कर्णाली प्रदेश सरकारीले पर्यटन बर्ष २०७५ घोषणा गरेको छ तर पर्यटक भित्राउने तिर लागीनपरेको उनले टिप्पणी गरे । यसले गर्दा पर्यटन बर्ष घोषणा गर्नु र नगर्नुमा कुनै अर्थ नरहेको उनले बताए ।

प्रकाशित मिति : २०७५ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस