

‘केही वर्ष पुर्खाले गरेको डकर्मी पेसा गरेँ, त्यसैबाट घरपरिवार चलाएँ,’ सार्कीले भने, ‘अहिले काष्ठकला गर्दै आएको छु ।’ घरेलु विकास समितिमा काष्ठकला उद्योग दर्ता गराएर तीन वर्षदेखि उनी यही पेसामा छन् ।
कलाको ज्ञान उनी सपनाबाट लिन्छन् भन्दा अनौठो लाग्छ । ‘राति सपनामा देखेको तस्बिर म जस्ताको तस्तै काष्ठकलामा उतार्छु,’ उनले दाबी गरे, ‘मलाई काष्ठकलाप्रति उत्पे्ररित गर्न सपनामा आएर देवीदेवताले ज्ञान दिएका छन् ।’ त्यही सपनामा देखेको चित्र विपनामा उतार्ने गरेको उनी बताउँछन् ।
तीन वर्षदेखि काठमा कला बनाउँदै आएका भक्तबहादुरले राष्ट्रिय जनावर गाई, डाँफे, शान्तिको प्रतीक परेवा, च्याखुरा, काग, कालिज, चिल, बाघ, सिंह, हनुमान, सरस्वतीलगायत सयौँ प्रकारका काष्ठकला निर्माण गरेका छन् ।
आफूले बनाएका मूर्ति बेचेर आय आर्जन गरिरहेको उनी बताउँछन् । ‘अहिले मेरो आम्दानीको मुख्य स्रोत काष्ठकलाका मूर्ति हुन्,’ उनले भने । उनले काष्ठकलाका लागि घरेलु तथा साना विकास उद्योगदेखि सरकारबाट पुरस्कारसमेत पाएको बताए ।
देउताले काष्ठकला बनाउन भनेपछि सपनामै देखेको चित्र पहिलोपटक राष्ट्रिय जनावर गाई बनाएका सार्की अचेल त्यही गाईको मूर्तिलाई हरेक दिन पूजा गर्ने गरेको बताउँछन् । ‘१५ हजार दिने ग्राहक जुटेका थिए । तर, त्यो मूर्ति बिक्री गरिनँ,’ उनले भने, ‘सपनामा देखिएका देउताका कारण पहिलोपटक बनाएको काष्ठकला बिक्री गर्न मनले मानेन ।
अनि पूजा गर्न थालेँ ।’ उनले तीन वर्षमा सयौँ काष्ठकलाका सामग्री बनाए । तर, निर्माण गरिएका कलाकृति बिक्री गर्न भने मुस्किल परेको सार्कीले बताए । बिक्रीका लागि बजार नभएकाले बिक्रीमा समस्या भएको उनले बताए । यद्यपि, यो अवधिमा उनले करिब पाँच लाख मूल्यबराबरका मूर्ति बेचिसकेको बताए ।