करिब डेढ घण्टासम्म अवरुद्ध बनेका मेटाका सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन्।
नेपालमा आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुकमा समस्या देखिएको थियो।
धेरै प्रयोगकर्ताले डेस्कटप ब्राउजरबाट फेसबुक लगइन गर्न नसकेको गुनासो गरेका थिए भने केही प्रयोगकर्ताले मोबाइल एपमार्फत सेवा आंशिक रूपमा चलिरहेको बताएका थिए। दिउँसो करिब ३ बजेदेखि भने दुवै प्लेटफर्म सामान्य रूपमा सञ्चालन हुन थाले।
सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलिएको थियो। अनलाइन सेवा निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार हजारौँ प्रयोगकर्ताले एकैपटक फेसबुक र इन्स्टाग्राममा समस्या आएको जानकारी दिएका थिए।
डाउनडिटेक्टरका अनुसार करिब ६३ प्रतिशत समस्या डेस्कटप (वेब ब्राउजर) मा, २० प्रतिशत मोबाइल उपकरणमा र १० प्रतिशत एपमा देखिएको थियो।
धेरै प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको भए पनि डेस्कटपमा “खाता अस्थायी रूपमा उपलब्ध छैन” भन्ने सन्देश देखिएको बताएका थिए।
सेवा पुनः सञ्चालनमा आए पनि मेटाले समस्या के कारण उत्पन्न भएको हो भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
यसअघि सन् २०२१ मा पनि फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टा विश्वभर ठप्प भएका थिए। त्यतिबेला मेटाले नेटवर्क पूर्वाधारमा गरिएको कन्फिगरेसन परिवर्तनका कारण समस्या आएको जनाएको थियो। त्यसयता पनि बेला–बेलामा मेटाका प्लेटफर्ममा यस्ता प्राविधिक समस्या देखिँदै आएका छन्।




