
कालिकोट : खाँडाचक्र नपा–१ मान्म बजारस्थित जिल्लाकै एक मात्र हिमचुली दुध डेरी उद्योग जातीय छुवाछुतका करण बन्द भएको छ ।
डेरीमा दलितले उत्पादन गरेको दुध आउन थालेपछि गैर दलितहरूले उक्त डेरीबाट दुध किन्नै छोडेपछि डेरी उद्योग बन्द भएको हो ।
दलितका घरको दुध गैर दलितले ल्याएको दुधसँग मिसिएपछि छुवाछुत भई गाई भैँसीले दुध दिन छाड्ने भन्दै बाहुन, क्षेत्री र ठकुरीले डेरीमा दुध ल्याउन छाडेको हिमचुली डेरी उद्योघका सञ्चालक जगेन्द्र आचार्यले बताए ।
‘दलितको घरबाट दुध आउन थालेपछि गैर दलितले दुध किन्न छाडे । त्यही भएर डेरी बन्द गर्नु परेको हो ।’–डेरी उद्योग संचालक आचार्यले भने ।
अहिलेको अवस्थामा जातीय छुवाछुतका कारण दुध डेरी बन्द हुनु दुखद् रहेको खाँडाचक्र नपा–४ का वडाध्यक्ष धनसिं कामीले बताए । जातीय विभेद गर्नेलाई कानुन अनुसार कारवाही हुनुपर्ने उनको माग रहेको छ ।
आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित समुदाय यस्तै अप्रत्यक्ष र प्रत्यक्ष विभेदका कारणले पछाडि परेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की बताउँछन् ।
कालिकोट जिल्लामा जातीय छुवाछुतकै कारण हाल जिल्लामा दलित समुदायद्धारा सञ्चालित एउटा पनि होटल छैन । एक दुई ओटा भएका होटल र मासु पसल पनि छुवाछुतका कारण बन्द भएका छन् ।