जुम्लाको सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ नगरपालिकामा सार्वजनिक सुनुवाईको माग गर्दै राष्ट्रिय जनता पार्टीले एक घण्टा तालावन्दी गरिएको छ । नगरपालिकाले अहिलेसम्म सार्वजनिक सुनुवाई नगरेको भन्दै बिहान १० बजेदेखि ११ बजेसम्म तालाबन्द गरेको हो ।
राजपा जिल्ला अध्यक्ष बिष्णुबहादुर भण्डारी नेतृत्वको पार्टीले विहान कार्यालय खुल्ने समयमा आएर तालाबन्दी गरेको हो । तालाबन्दी गरेपछि करिब ११ बजेसम्म पदाधिकारी तथा कर्मचारीहरु बाहिरै बसेका थिए ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि नै सार्वजनिक सुनुवाई कार्यक्रम नगरेको र पटक पटक भन्दा पनि सुनुवाई नगरेका कारण तालाबन्दी गर्न वाध्य भएको अध्यक्ष भण्डारीले बताए । यता नगरपालिकाका मेयर कान्तिका सेजुवालले सार्वजनिक सुनुवाई चाँडै हुने बताइन् । तालाबन्दी भएपछि चन्दननाथ नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने मौखिक प्रतिबद्धता भएपछि सुरक्षाकर्मी, पत्रकारहरुको रोहवरमा ताला खुलाइएको हो ।
चन्दननाथ नगरपालिकासहित केही स्थानीय तहले गत आर्थिक वर्षको समेत सार्वजनिक सुनुवाई गरेका छैनन् । यसैगरी राजपाले सार्वजनिक सुनुवाई नगर्ने स्थानीय तहमा पनि चरणवद्ध रुपमा दवावसहितका कार्यक्रमहरु गर्ने जनाएको छ ।
अध्यक्ष भण्डारीद्वारा जारी एक विज्ञप्तिमा नगरपालिकामा वर्षभरी गरेका विकासका योजनाहरुको जनतामाझ जानकारी नहुनु, सेवा प्रवाह तथा खरिद सामग्रीहरुको बिषयमा जानकारी नगरेका कारण तालावन्दी गरिएको उल्लेख छ ।