नन्दराम जैसी,
जुम्ला । पातारासी गाँउपालिका ४ का पुसे नेपालि उमेरले ६४ बर्ष पुगे । बृद्ध शरीर, दिनप्रतिदिन कमजोर बन्दै गरेको स्वास्थ्यका कारण उनलाई खासै काम गर्नपनि त्यति जाँगर चल्दैन । तर बाध्यता, काम नगरी सुख्खै छैन । विगत चार दशकयता आरन (फलामका औजारहरु बनाउने) पेशामा आबद्ध पुसे नेपालिले अहिले पनि यो पेशा छोडेका छैनन् । उनका अनुसार घरमा जम्मा गरीएको सल्लो, गोप्रे लगाएत काठको बोक्राहरु आरन मेसिनको सहायताले हावा दिएर जलाउँदै आगो बालिन्छ । र सोही आगोमा फलाम तताउँदै, पिट्दै कुटो, कोदालो, हँसिया, बन्चरो, भाला लगाएत विभिन्न औजारहरु बनाईन्छ । तर काम जति नै जोखीम भएपनि उनका लागि भने, यो सजिलै पेट भर्ने ब्यवसाय हो । किशोर अवस्थामै सिप सिकेर काम थालेका उनले आरन पेशामै आफ्नो उमेर बिताए ।
शुरु शुरुमा उनलाई यो पेशा ठिकै लाग्थ्यो । तर जब उमेर ढल्किँदै गयो । तब काम गर्ने पनि उनिमा जाँजर मर्दै गएको छ । उनले भने, ‘अन्य कुनै सिप छैन, यहि काम नगरी पनि के गर्नु ? उमेरले समय छाड्दै गयो, तर आरनले छोडेको छैन ।’ जसले फलाम दिन्छ, उसैले भनेको जस्तै उनि औजार बनाई दिन्छन् । कतिपय औजार उनले आफै पनि बनाएर बेच्छन् । जसका लागि सबै औजारहरुको फरक फरक रेट निर्धारण गरीएको छ । यसरी आरन पेशाबाट कमाएको रकमले उनी घरखर्च चलाउँछन् । उनका अनुसार केहि बर्षअघिसम्म आरन पेशा दैनिक छाक टार्ने मात्रै माध्यम थियो । तर अहिले यो पेशा मनग्य पैसा कमाउने ब्यवसाय समेत बनेको छ । उनको यो पुर्खौली पेशा नै हो । उनले आफ्ना बाबा, हजुरबाबा बाट यो सिप सिकेका हुन् । तर पछिल्लो चरण यो पेशा संकटमा परेको छ । आरन पेशाबारे पछिल्लो पुस्तालाई सिप हस्तान्त्रण नहुनु र यो पेशाप्रति उनिहरुको रुचि नहुनुले पेशा संकटमा परेको हो ।
‘हामी एक छाक खाना, एक मानो चामल र एक पोका तेलको लागि मात्रै आरन पेशा गथ्यौँ’ पुसे नेपालिले थपे ‘तर अहिले दैनिक १५ सयसम्मको कमाई हुँदापनि यो पेशाप्रति पछिल्लो पुस्ताको रुचि छैन ।’ अर्काको घरमा दिनभर आरनको काम गरेबापत मानो, मुरी खाएरै आफ्नो बालापन बितेको सुनाउँदै उनले अहिलेका लागि आरन पेशा बार्षिक लाखौ कमाई गर्ने ब्यवसाय भएको बताए । अध्याँरो र एकान्त गोठमा उनले यसरी नै आफ्नो आरन पेशालाई बर्षौदेखि निरन्तरता दिँदै आएका हुन् । धुँवा र धुलोको मुस्लोमा यसरी फलाम खियाउँदै आएका उनी अहिले छोरालाई सिप हस्तान्त्रण गर्ने दाउमा छन् । उनलाई अहिले उक्त ब्यवसाय संचालनका लागि संस्थाबाट थप सहयोग समेत जुटेको छ । सिप सिकेका तर सामाग्री नभएर अप्ठ्यारो परेकालाई उद्यमी बनाउने ध्येयले प्लान ईन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित समावेशी शिक्षा प्रर्वद्धन परियोजना अन्र्तगत सिप आयआर्जन कार्यक्रमबाट उनलाई आरन पेशा सम्बन्धि विभिन्न औजार सहयोग गरीएको हो । उनका लागि छुट्टै आरन लगाउने घर र जस्ता पाताको समेत संस्थाले ब्यवस्था गरीदिएको छ ।