जुम्लामा हवाई मार्गबाट समेत लागु औषध ओसार पसार

जुम्लामा हवाई मार्गबाट लागु औषध भित्रिने गरेको छ । सामानकाे बीचमा राखेर व्यापारी तथा सेवनकर्ताले लागु औषध ओसार पसार गर्ने गरेकाे तथ्य फेला परेकाे हाे ।

आइतबार पत्रकार सम्मेलन गरी लागु औषध ओसार पसारकाे घटना सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो घटना सार्वजनिक गरेको हो । ‘जुम्लामा हवाई मार्गबाट लागुऔषध भित्रिन्छ भन्ने कुरा विश्वास गर्न सकिँदैन । तर, निगरानी बढाएपछि सुन्तलामा समेत लागु औषध (ब्राउन सुगर) ओसार पसार गरेकाे भेटियाे,’ प्रहरी नायव उपरीक्षक लालबहादुर धामी भने ।

जिल्लामा फलफूलको काटुनभित्र लागु औषध ल्याउन गरेको प्रहरी नायव उपरीक्षक धामीले बताए । ‘नेपालगंज हुँदै जिल्लाकाे विमानस्थलसम्म लागु औषध आइपुग्दो रहेछ,’ उनले भने । गत बुधबार सीता एयरलाइन्सको जहाजमा १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बामा लागु औषध लुकाएर लगिएकाे भेटिएकाे थियाे । यस्तै, कण्डममा लुकाएर लगिएकाे ६ ग्राम ब्राउन सुगर विषेश सुचनाका आधारमा फेला पारेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले लागु औषध पठाउने र लिने व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरूको नाम गाेप्य राखिएकाे प्रहरीले जनाएकाे छ । त्यसअघि प्रहरीले १७ मंसिरमा तिला गाउँपालिका-३ कुडारीमा एक ग्राम लागु औषध ब्राउन सुगरसहित एक नाबालकलाई पक्राउ गरेको थियो । ती बालकको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस