
जुम्ला : हिमा गाउँपालिका जुम्लाका महिलाले देउडा गीत मार्फत पोषण सम्वन्धी सन्देश दिन थालेका छन् । गाउँपालिकाको बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्र्तगत यहाँका महिलाले यस्तो सन्देश दिन थालेका हुन् ।
कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, मुगुलगायतका जिल्लामा पोषणयुक्त खाना नखाएर यहाँका बालबालिका र गर्भवती महिला कुपोषित हुने गरेका छन् । पोषणको महत्वको बारेमा जानकारीसंगै स्थानीय स्तरका गाउँघरमा पोषण स्थितिमा सुधार ल्याउनका लागि यस्तो सन्देश मुलक देउडा गीत मार्फत सन्देश दिन खोजिएको हो ।
विभिन्न रोगबाट बचाउनका लागि बच्चालाई खोप लगाउन पर्ने र केही विरामी भएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि लैजानुपर्ने महिलाले देउडा गीत मार्फत सन्देश दिएको स्थानीय रानीपुरा शाहीले बताइन् । गर्भवती महिलाले नियमित स्वास्थ्य संस्थामा चेकजाच गराउनु पर्ने र आमा बच्चाको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य संस्थामै गर्भवती महिलाले सुत्केरी हुनुपर्ने पनि सन्देश दिएको थियो । स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाच गर्ने र सत्केरी हुने महिलालाई प्रोत्साहन स्वरुप तीन हजार ८ सय रुपैया पनि प्राप्त हुने सन्देश देउडा मार्फत दिएको उनले बताइन् ।
नवजात शिशु तथा गर्भवती महिलाको पोषण स्थिति कमजोर भएका कारण कुपोशित छन् । बजारको जंङ्ग फुट बच्चा नखुवाउने, स्थानीय स्तरमै उत्पादन भएको गेडागुडी, हरियो सागपात, अण्डा माछा मासु खुवाएर पोषण अवस्थामा सुधार आउने यहँका महिलाले देउडा गीत मार्फत सन्देश दिएको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने बच्चा जन्मेका ६ महिनासम्म आमा दुध बाहेक अरु खुवाउनु हुदैन । ६ महिनापछि अन्य खाद्य बस्तु खुवाउन सुरु गर्ने समेत देउडा गीत मार्फत सन्देश दिएका हुन् ।
एउटा सानो शिशुको बृद्धि राम्रो हुनु पर्छ र उसको वजन केजीले बढ्नु पर्छ । जन्मदेखि दुई वर्षसम्म शिशुको वजन प्रत्येक महिना बढ्नु पर्छ । यदि कुनै शिशुको वजन दुई महिनासम्म बढेन भने केही न केही अवश्य समस्या भएको हुनुपर्छ । नियमित वजन बढ्दै रहनु शिशुको बृद्धि र विकास राम्रो भएको महत्त्वपूर्ण सङ्केत हो ।
कुनै शिशुको दुई महिनासम्म वजन बढ्दैन भने उसलाई पौष्टिक खानको कमी भएको हुन सक्ने भएकोले बच्चालाई पोषणयुक्त खानाको आवश्यक भएको अभिभावकले बुझ्नु पर्ने स्वास्थ्यकर्मी मेनका देवकोटाले बताइन् ।