विपन्न जीतबहादुरलाई राहत बोकेर घरमा पुगे सई खड्का


जुम्ला ः जुम्लाको नाग्म प्रहरी चौकी रारालिहिका इन्चार्ज सई कृष्णबहादुर खड्का राहत सामग्री खाद्यन्न लिएर एक बर्ष देखि बिरामीले थलिएका जीतबहादुर दमाइको घरमा पुगे । उनले एक बोरा चामल, पाँच केजी पिठो, दुइ पोका तेल, दुइ पोका नुन, लुगा धुने र नुहाउने साबुन लिएका विपन्न जीतबहादुरको घरमा पुगेका हुन् । बिहानै चामल लिएर घरमा पुगेका उनलाई जीतबहादुरले भगवान ठाने । दैनिक उपभोग्य बस्तु खाद्यन्न (चामल, पिठो) नभएर चुलोमा तीन दाना आलु पकाउने तयारी गरेका जीतबहादुर राहत पाएपछि खुशी नै भए । तीन दाना आलु चार जनाले बाँडेर खाने योजना थियो । चौकी इन्चार्ज खड्काले भने,‘ घरमा पुग्दा निकै दयनिय अवस्था थियो ।’
जीतबहादुर बिरामी भएर भुइमा पल्टेका थिए । नाबालक तीन छोराछोरी चुल्होमा ३ दाना आलु पकाएर बिहानको छाक टार्ने अवस्थामा थिए, इन्चार्ज खड्काले थपे, यो अवस्था देखेर जोसुकैको गला अबरुद्ध हुन्थ्यो । मनमा अशान्ति पैदा हुन्थ्यो ।
तिला गाउँपालिकाको २१ गते बसेको विपद् व्यवस्थापन समितिको बैठकमा जीतबहादुरको दयनिय कथाको बारेमा जानकारी पाइएको थियो । त्यो लगतै गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा र प्रहरी चौकी इन्चार्ज खड्का अनुगमन गर्न घरमै पुगेका थिए । चौकी इन्चार्ज खड्काले भने,‘ जीतबहादुरको घरमा पुग्दा निशब्द भयौँ । ’ आफ्ना बुबा आमा गुमाउदाको पिडा सम्झँदै उनले जीतबहादुरको अवस्था पनि निकै पिडादायक भएको बताए । उनले आफु नाग्म प्रहरी चौकी रारालिहीमा हुदाँसम्म खाद्यन्नको अपुग हुन नदिने प्रतिबद्धता गरे ।
म यहाँका स्थानीयको दुख सुखमा साथ दिन चाहान्छु । गलत तथा विकृतिजन्य कार्य हुन दिने छैन् । अतिविपन्न, असाह्य, टुहुराको सेवा गर्न पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया उनले दिए । उनले गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा र वडाध्यक्ष परबहादुर रावतको रोहबरमा खाद्यन्न उपलब्ध गराएको बताए ।
तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले जीतबहादुरको घरमै पुगेर खाद्यन्न उपलब्ध गराएकोमा चौकी इन्चार्ज खड्काले निकै ठुलो कार्य गरेको बताइन् । उनले भनिन्,‘ गाउँपालिकाले पनि जीतबहादुरलाई अति विपन्नको सुचिमा राखेर खाद्यन्न उपलब्ध गराउने निर्णय गरिसकेको छ । जीतबहादुरको दुखमा गाउँपालिकाले साथ दिन तयार छ । त्यो भन्दा अघि नै प्रहरीचौकीबाट राहत उपलब्ध भएकोमा निकै खुसि लागेको छ ।,
उनले जिल्ला स्थित गैरसरकारी निकाया संग समन्वय गरेर जीतबहादुरको पिडामा मलहम लगाउने काम गर्ने प्रतिबद्धता जाहेर गरिन् । उनले जीतबहादुरको उपचारका लागि आवश्यक पहल गर्ने जानकारी दिइन् । जीतबहादुरको अवस्थाका बारेमा नियमित सम्पर्कमा रहन वडाध्यक्ष परबहादुर रावतलाइ उपाध्यक्ष बुढाले आग्रह गरिन् । यहाँका विपन्न तथा असहाय नागरिकको पक्षमा स्थानीय सरकार रहेको प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस