जुम्ला ः कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा) जुम्लाले यहाँका एक हजार २५ घरधुरीमा राहत वितरण गरेको छ । कोरोना माहामारीले आम्दानी र उत्पादन घटेका लकडाउन प्रभावितलाई राहत वितरण गरेको हो ।
काष्डाले वल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा जुम्ला जिल्लामा रहेका विपन्न घरपरिवारलाई राहत वितरण गरिएको परियोजना संयोजक भेषबहादुर रावलले बताउनुभयो ।
उहाँका अनुसार राहत प्याकेजमा नेपाल सरकारको मापदण्ड अनुसार प्रति घर ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, २ किलो नुन, २ लिटर तेल र ४ चक्की सावुन वितरण गरिएको छ ।
’राहतका लागि सम्बन्धित वडा कार्यलयसँगको समन्वयमा लाभग्राही छनोट गरिएको थियो,’ परियोजना संयोजक रावलले भन्नुभयो, ’प्रत्येकको युनिक आइडी सिस्टम क्रियट गरी मोवाइलफोन मार्फत एसएमएस गरेर सिस्टमले ओके गरेपछि मात्र लाभग्राहीले राहत पाउने व्यवस्था गरिएको थियो ।’
त्यस्तै कोभिड–१९ लाई लक्षित गरि सञ्चालित नेपाल कभर परियोजनाले जिल्लाका विभिन्न क्षेत्रका ६ सय ६० जनालाई तरकारीको बीउ र हजारी वितरणा गरेको छ । बीउमा काख्रा, रायो, मुला र धनियाँ रहेका छ ।
सहयोगकै क्रममा ४० घरलाई जिविको पार्जनका लागि विभिन्न व्यवसायमा सहयोग पुग्ने खालका सामग्रीहरु डिजिटल तौल मेसिन, आलु आचिप्स बनाउने मेसिन, जुसर मेसिन, गार्डेन पाइप, आरि सिकेचर र बीउ राख्ने बोरा तथा सुकाउनलाई त्रिपाल समेत साहयोग गरिएको रावले बताउनुभयो ।
दोस्रो चरणमा पनि समुदाय स्तरमा राहतका कार्यक्रम ल्याइने तयारी गरिएको काष्डाले जनाएको छ ।