
जुम्ला ः जुम्लाको एक सरकारी टोलीलाई शनिबार नेपाली सेनाले सलामी दिएर जुम्ला सदरमुकाम खलङ्गाबाट बिदाइ गरेको छ । बाजुरामा रहेको बडिमालिका भगवती मन्दिरतर्फ प्रस्थान गरेको उक्त सरकारी टोलीलाई नेपाली सेनाले सलामी दिएर बिदाइ गरिएको हो ।
अघिल्ला बर्षमा १५÷२० जनाको तीर्थालु र सुरक्षाकर्मीसहितको टोली जाने गरेपनि यसबर्ष कोरोना भाइरसका त्रासका कारण ५ जनाको सरकारी टोलीलाई नेपाली सेनाले पाँचवटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर सम्मानका साथ पठाएको हो । संस्कृतिका जानकार विष्णुप्रसाद उपाध्यायका अनुसार परम्परादेखि नै हरेक वर्षको एकपटक जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ ।
हरेक वर्ष नाग पञ्चमीको दिन तीर्थालुसहित जुम्लाबाट सरकारी टोली बाजुरामा रहेको बडिमालिका भवतीको मन्दिर दर्शनका लागि प्रस्थान गर्ने गर्दछ । शनबार दिउँसो २ बजेतिर नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकायलगायत सर्वसाधाणले फूलमाला, अबिरसहित पञ्चेबाजाका साथ सरकारी टोलीलाई बिदाइ सहायक प्रमुख जिल्ला अधिकारी ओेमप्रकाश देवकोटाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्ब हरिहर काफ्लेको नेतृत्वमा प्रस्थान गरेको सरकारी टोली १७ दिनपछि जुम्ला सदरमुकाम आइपुग्ने बताइएको छ । दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तीर्थालुलाई परिक्रमा गराएपछि उक्त सरकारी टोलीलाई बाजुरातर्फ पठाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ ।
त्यस्तै भक्तजनले आफ्नो वर पूर्तिका लागि भेटीसँगै मार्सीधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा, तोरणजस्ता प्रसादहरू पठाएका छन् । जिल्लाबाट गएको टोलीसँगै गाउँगाउँबाट पनि अन्य धर्मावलम्बीहरू थपिँदै जाने गर्दछन् ।
एघारौँ पटक बडिमालिका
चन्दननाथ नगरपालिका – ९ श्रीढुस्का विष्णुप्रसाद उपाध्याय अहिले बर्ष गरी एघारौँ पटक धार्मिक रुपमा प्रसिद्ध मन्दीर बडिमालिका पुजाआजाका लागि जानुभयो ।
उहाँले भन्नुभयो “शक्तिले सकुन्जेलसम्म बडिमालिका भगवतीको पुजाआजा गर्न पछि पर्ने छैन ।” अहिलेबर्ष पनि जादैछु तर थकान भएको छैन । कोरोना भाइरसका त्रासका बीच पनि माडिमालिका भगवतीले बाजुरा जिल्ला पुगेर पुजा गर्ने शक्ति प्रदान गरेकी छन् ।