कोरोना कहर : ह्विलचेयरमै ४१ किलोमिटरको यात्रा

जुम्लाको हिमा गाउँपालिका– ६ का सूर्य अधिकारी अपांगता भएका व्यक्ति हुन् । सोही गाउँपालिकाको पञ्जीकरण शाखामा कार्यरत अधिकारीको यात्राको सहारा ह्विलचेयर  हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि लामो समयदेखि लकडाउन भएर सवारीसाधन बन्द भएपछि अधिकारी ह्विलचियरमै कार्यालय आउने–जाने गर्दछन् । कार्यालयदेखि ४१ किलोमिटर टाढा रहेको जुम्लाको सदरमुकाम खलंगा बजारमा उनका घरपरिवारको बसोवास छ । उनी साताको एक दिन परिवार घेटघाटका लागि सदरमुकाम ह्विलचेयरमै आउने–जाने गर्दछन् ।

नाग्मसम्म सार्वजनिक सवारीसाधन चल्दा पनि कतिपय सार्वजनिक गाडीले ह्विलचेयर  चढाउन नमान्ने, चढे पनि बस्न, ओर्लिन र ह्विलचेयर राख्न असजिलो हुने भएकाले अधिकारीले ह्विलचेयरमै यात्रा गर्ने गरेको बताए ।

‘झन् यति वेला कोरोनाले लकडाउन भयो । गाडी पाउने कुरा भएन, एक–दुईपटक त गाउँपालिकादेखि सदरमुकाम ४१ किलोमिटर ह्विलचेयरमा यात्रा गरेको छु । तर, कहिलेकाहीँ बाढीपहिरो र खोला बढेपछि समस्या हुने गर्दछ,’ उनले भने ।

जन्मजात पोलियोको समस्या भएका अधिकारीको दुवै खुट्टा चल्दैन । सडक राम्रो भइदिए ह्विलचेयरकाे यात्रासमेत राम्रो हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस