कोरोना भाइरस विरुद्ध तिला गाउँगाउँमा सचेतना

जुम्लाको तिला गाउँपालिकाले गाउँगाउँमा कोरोनाविरुद्धको सचेतना फैलाउने कार्यलाई तीब्रता दिएको छ । पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली करिडोरका क्षेत्रमा कार्यबहाक अध्यक्ष विष्णु बुढा र गाउँमागाउँमा वडाध्यक्षको नेतृत्वमा सचेतना फैलाउने कार्य भइरहेको हो । शनिबार कार्यबहाक अध्यक्ष बुढाको नेतृत्वमा कर्णाली करिडोरको कुडारी, त्रिवेणी,डुण्डेली, रारालिही र नाग्म बजारमा सचेतना फैलाइएको हो ।

माइकिंग गरेर मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने र सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्न आग्रह गरिएको हो । साथै हरेक भित्तामा सचेतना फैलाउने खाले सुचना टाँस समेत गरिएको हो । सचेतनाका लागि प्रत्येक वडालाई आवश्यक सामाग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले जानकारी दिए । उनले भने,’ पहिले पनि सचेतनाका क्रियाकलाप भए । अहिले पनि सचेतनाको कार्य अघि बढाएका छौँ । जनता सुसुचित भएको खण्डमा कोरोना संक्रमण अवश्य रोकिने छ । जसका लागि जनता जागरुक बन्नु पर्ने देखिन्छ । ’
जुम्लाको तिला गाउँपालिका ७ मा तीन जनाको कोरोना पोजेटिभ देखिएपछि सचेतनाका विभिन्न माध्यम अपनाउन थालिएको हो । गाउँमा सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै सचेतनाका काम भइरहेको छन् । गाउँकार्यपालिकाको बैठकले कोरोना विरुद्धको अभियानमा लागेका सबैलाई कोरोना विमान गरिदिने निर्णय समेत गरेको छ । आइसोलेसनमा खटिनेको पनि बिमा गर्ने निर्णय भएको कार्यबहाक अध्यक्ष बिष्ण्ुा बुढा बताउँछिन् ।
उनले भनिन्,‘कोरोनाको न औषधि छ, नत कुनै खोप नै बनेको छ । सचेतना र सावधानीको विकल्प छैन । फेरी एक पटक गाउँमा गएर जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेका छौँ । ’ कोरोना संक्रमण रोक्न सचेतना बाहेको बिकल्प छैन् । गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्ने जोखिमलाइ मध्येनजर गर्दै एक साता गाउँपालिका नै सिल गरिएको उनले बताइन् । उनले भनिन्,‘भदौ २१ देखि २८ गते सम्म गाउँपालिका सिल गरिएको छ । कन्ट्रयाक ट्रेसिङ गरेपछि आउने रिर्पोटले मात्र सिल कायमै राख्ने वा खोल्ने भन्ने बिषयमा टुंगो लाग्ने छ ।’
पुर्वमा कान्छिखोला,पश्चिममा नाग्मबजार,उत्तरमा मोफ्ला काँध र बाइसथाप्ला र दक्षिणमा कयरकोट हुदै भुटानचौर खोप्रिदेखि घोडेसिम गाउँ सम्मको चारकिल्ला भित्र सिल गरिएको हो । यहाँ भिडभाड, हुल हुज्जत,भेला, आवतजावत गर्न बन्द गरिएको छ । गाउँमा एक गाउँबाट अर्को गाउँमा पनि जान निषेध गरिएको वडाध्यक्षहरु बताउँछन् ।
तिला गाउँपालिकाको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले गाउँपालिका भित्रका १ देखि ९ वडा सम्मका बजार बिहान साढे ६ बजेदेखि साढे नौ बजे सम्म मात्र खुलाउन पाउने छन् । मास्क नलगाई खुला रुपमा हिडडुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ ।
मृत्यु दाहासंस्कारमा बढिमा १५ जना सहभागि हुने,धार्मिक, साँस्कृतिक, सामाजिक, बिवाह, बर्तवन्ध लगायतका कुनै पनि जमघट तथा भेला सबै क्रियाकलाप बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटा बताउँछन् । सिल जारी भएको क्षेत्रमा एम्बुलेन्स,शवबहान,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,कुटनीतिक नियोग, पेस तथा सञ्चारकर्मीका सवारी साधन चल्न पाउने छन् । यो संगै अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारीसाधन पनि सञ्चालनमा आउन दिने निर्णय भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस