सागर परियार।
“पश्चिमा संस्कृति हाबी हुदैं गएपछि कर्णालीका हुड्के नाच मात्र हैनन, मागल,पञ्चेबाजा,ढाल नाच लगायतका संस्कृति लोपोन्मुख बन्दै गएका छन् ।स्थानीय तहमा नीतिगत निर्णय नहुँदा हुड्के नाच पुस्तान्तरण र संरक्षण गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।”
तिला गाउँपालिका ३ का हस्त दमाई अहिले पनि हुड्के नाच्छन् । हुड्क नाच जुन उहाँका बुबाले उनलाई सिकाएर गएको संस्कृतिमा आधारित एक पुर्खोउली सिप हो । हस्त दमाई गाउँघरमा कसैको विवाह हुँदा,छोरा हुँदा वा कुनै उत्सव हुँदा नाच्न गाउँ गाउँमा जान्छन् । उहाँलाई विभिन्न ठाउँबाट निमन्त्रणा आउँछन् । विशेष गरी मङ्सिर र वैशाखको महिनामा अरू समय भन्दा धेरै निमन्त्रणा आउने गर्थ्यो ।
जुम्लाको पूर्व गुठिचौरदेखि पश्चिम कालिकोट र दक्षिण सिंजासम्मका विभिन्न गाउँहरूमा उहाँ आफ्नो हुड्के नाच लिएर पुगेका छन् ।
तातोपानी ३ का रतन दमाई पनि एक पोख्त हुड्के नाच्ने कलाकार हुन् । उहाँलाई पनि रारा गाउँका हस्त दमाई जस्तै विशेष अवसरहरूमा विभिन्न ठाउँबाट निमन्त्रण आउँथ्यो । तर केही वर्ष हुन थाल्यो, हुड्के नाचका लागि निमन्त्रणा आउनै छोड्यो ।
हस्त दमाईले भन्नुभयो,“मनमा जागर, सिप कला हुँदा, पनि अहिले साथ दिने संगी छैनन् । भने अर्को तर्फ हुड्के नाच रुचाउने समुदाय नै कम भई सकेका छन् । विगतको जस्तो निमन्त्रण आउदैआउदैन, कतैबाट निमन्त्रणा आइहालेपनि सहयोगीहरू जुटाउनै धौधौ हुन्छ । जान मान्दैनन्, गाउने सिकाउने माहौल पनि छैन । सिकाउन खोज्दा पनि अहिलेका पुस्ताले सिक्न नचाहने धेरै छन् । ”
रारा गाउँका रतन दमाई पनि हस्तकै कुरामा सहमत छन् । उनी भन्छन्, “मैले आफ्नो बुबाबाट हुड्के नाच सिकेको हुँ, म उहाँ सँगै पहिले गाउँ गाउँमा जान्थे, मैले रुचि देखाएपछि सिकेको थिए । एक पटक प्रचण्ड जुम्ला आउँदा खेरी पनि हुड्के नाचेको याद छ । तर अहिले न त पछिल्लो पुस्ता सिक्न चाहान्छन, नत विशेष अवसरमा हुड्के नाचनै गर्दछन् । सबैले हुड्के नाचलाई बेवास्ता गर्दा सङ्कटमा पर्दै गएको छ ।
हुड्केनाँच पञ्चेबाजा, ढाल नाचको संरक्षण नगरे सम्म कर्णालीको संस्कृति पहिचान केही वर्ष खोज्नु पर्नेमा स्थितिमा पुग्ने पञ्चेबाजा एकता समाजका जुम्लाका सचिव लालु दमाईले बताउनु भयो । उहाँका अनुसार “दमाई जातीमा आधारित एक मौलिक पेसा हो हुड्के नाच । यसको संरक्षणमा स्थानीय सरकारदेखि स्वयम दमाई समुदाय अग्रसर हुन जरुरी छ । हाम्रा पुर्खाले हुड्के नाचेरै परिवार चलाएको इतिहास छ ।”
यसरी नाचिन्छ हुड्के नाच
हुड्के नाच कर्णालीमा मात्रै नाचिने एक भिन्नै संस्कृति हो । दमाई जात सँग आधारित यो नाच कर्णालीमा निकै रुचाउने गरिन्छ । जुम्ला भन्दा त अझै कालिकोटमा निकै प्रख्यात छ यो नाच । विशेष गरी विवाह गर्दा, छोरो जन्मिँदा, कोही दुर्घटनाबाट बचेर आउँदा, विशेष खुसीको अवसर हुँदा अनिवार्य पञ्चेबाजा बजाउने र हुड्के नचाउने चलन थियो ।
जुम्लाका संस्कृत विद् रमानन्द आर्चाय भन्छन्, “आजभोलि त पुराना परम्परागत संस्कृति भन्दा पनि जुनसुकै अवसर हुँदा होटेल बुक गरेर रमाइलो गर्दछन् । जसले गर्दा हाम्रो मौलिकतामा पश्चिमी संस्कृति हाबी भएको छ । स्थानीय सरकार आइसकेपछि पनि हुड्के नाच जस्ता धेरै संस्कृति संरक्षणमा खासै उल्लेख्य काम हुन सकेको देखिँदैन ।”
हुडेकको आफ्नै महत्त्व छ । हुडेक नाच्न एक जनाले सम्भव छैन । कम्तीमा पनि ७ जना अनिवार्य हुनै पर्दछ । जसमा गीत गाउन सिपालु अथवा नाइके दुई जना उठेर नाच्ने र गीत गाउने गर्नु पर्दछ । एक जना मादल बजाउने, ४ जना भाका छोप्ने गरी कम्तीमा पनि ७ जना हुनै पर्दछ ।
गाउन तथा नाच्न जान्ने एक जनाको कमी भएमा हुड्के नाच प्रभावित हुन्छ । हुड्के नाच्दा सेतो कपडाले बनेको आँगा, शिरमा फेटा, कम्मरमा पेटी, चस्मा, खुट्टामा चाप लगाउनै पर्दछ । हातमा बाख्राको छालाबाट बनाइएको हुड्को तालमा यो नाच नाचिन्छ । गाउँदा खेरी हुड्केको कानमा लगाएर ताल मिलाएर गाउने गरिन्छ । हडुकेका नाचका लागि जुम्लाका तातोपानी, रारा, सिंजाको जाँच र गोरा निकै प्रख्यात ठाउँहरू हुन् । कर्णालीका कालिकोट र मुगुमा पनि हुड्के नाच नाचिन्छ ।
हुड्के नाचबाटै राम्रो कमाई
हुड्के नाच कर्णालीको एक मौलिक संस्कृति हो । यसले जातीय तथा भेगिय पहिचान पनि झल्काउँछ । परम्परा, संस्कृति सँगै कर्णालीको हुड्के नाच राम्रो आम्दानीको एक स्रोत पनि हो । सिंजा गोरामाका मोती दमाईले भने, ‘निमन्त्रणा दिँदा सिधै ज्याला निर्धारण गरे जान्छौ । कम्तीमा पनि एक दिनमा खाना खाएर १ हजार ज्याला लिन्छौ, भने अन्य थप गाएर आफै पनि कमाउन सकिन्छ ।’
‘पहिला अन्नपात ल्याउने चलन थियो । तर अहिले ज्यालामा जान्छौ । विवाह प्रबन्ध, लगायत कुनै विशेष अवसरमा जाँदा कम्तीमा १०÷१५ हजार कमाई हुन्छ । तर आफ्नो जाति पेसा प्रति अहिलेको पुस्ताले रुचि नराखेपछि कमाई भन्दा पनि बचाउनै गाह्रो भएको’ उनको भनाई छ । लाखौँका हिसाबले कमाई हुने भएता पनि दमाई समुदायले रुचि नदेखाएकै कारण पछिल्लो समय हुड्के नाच लोपोन्मुख अवस्थामा पुगेको उहाँको ठम्याई छ ।
हुड्के नाचबाटै चेतना
हुड्के नाच विवाह प्रबन्ध, लगायत विशेष अवसरमा अनिवार्य गरिन्छ । कतै, रमाइलोको लागि पनि हुड्के नाचिन्छ । त्यसोत कतै कुनै चेतना अभिवृद्धिका लागि पनि यो नाच नाचिन्छ । राजनीति कार्यक्रमहरूमा पनि हुड्के नाचलाई विशेष प्राथमिकता दिइने गरिन्छ ।नाचसँगै देश समृद्धिका लागि जनताको अपेक्षा, नेताले गरेको विकास, आश्वासन सबै गीत मार्फत भन्ने गरिन्छ ।
छाउपडी, पोषण, महिला हिंसा लगायत विभिन्न विषयमा पनि हुड्के नाचलाई बलियो माध्यमका रूपमा लिने गरिएको तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँका स्थानीय हुड्के नाच मार्फत छिटै बुझ्ने भएकाले पनि यसको प्रयोग गरिन्छ । गाउँ गाउँमा हुड्के नाच मार्फत चेतना फैलाउने चलन अहिले पनि छ । राजनीतिक कार्यक्रमदेखि चेतनामूलक कार्यक्रममा हुड्के नाचको महत्त्व निकै छ ।”
नेपाली भाषाको उद्गम स्थल कर्णाली संस्कृति र मौलिकताको प्रचुर सम्भावना भएको ठाउँ हो । अहिले कर्णालीका गाउँघरमा प्रचलित देउडा, हुड्के नाच, धामी नाच, लहरे नाच लगायतका गौरवमय सांस्कृतिक नाचहरू र गीतहरू बिस्तारै हराउँदै गइरहेका छन् ।
पछिल्लो समय भित्रिँदै गएको बाहिरी संस्कृतिको प्रभावले गर्दा, कर्णालीको मौलिकता बोकेका नाचहरू हराउँदै गएका हुन् । कर्णालीका सांस्कृतिक धरोहर मानिने, यी विभिन्न नाचहरूको संरक्षण, विकास र प्रवर्द्धन गर्नु हामी हामी सबै सरोकारवालाको पनि उत्तिकै दायित्व हो ।
भागी विवाहले हुड्के नाच लोप
परम्परागत मागी विवाहमा कमी आएसँगैपनि ‘हुड्के नाच’ को महव घटेको बताइन्छ । हिजो आज मागी भन्दा भागी विवाह गर्नेको सङ्ख्यामा वृद्धि भएपछि ‘हुड्के नाच’को महत्त्व हराउँदै गएको कतिपयको भनाई छ । ‘आजभन्दा १०–१५ वर्ष पहिले मङ्सिर र माघ महिनामा गाउँघरमा बिहेका पञ्चेबाजा खुब सुन्नपाइन्थे । हुड्केहरूलाई पनि भ्याइ–नभ्याई हुन्थ्यो । आजभोलि त मङ्सिर र माघ गएको पत्तै हुँदैन ।’
‘मागी बिहे हुँदा पञ्चेबाजा दमाहा, सनाई, नरसिंहा, ढोल, ताल र हुड्कोलगायतका बाजा बजाएर बेहुलाको घरदेखि बेहुलीको घरसम्म छमछमी नाच्दै/गाउँदै जान्थ्यौँ । बेहुलीको घरमा पुगेर बाजाहरू बजाउनु बेस्सरी बजाउँथ्यौँ । हुड्के नाच्दै गाउँदा र चुट्किला भन्दा खुब मज्जा आउँथ्यो । केही समययता गाउँघरमा हुने बिहे मध्ये ‘कतिले मन्दिरमा गएर त कतिले पार्टी प्यालेसमा गएर बिहे गर्ने चलन बढेपछि पुरानो संस्कृति र हुड्के बाजा लोप हुँदै गएको संस्कृत विद् रमानन्द आर्चाय बताउनु हुन्छ ।