काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज पनि बहस जारी छ ।
सर्वोच्च अदालत संवैधानिक इजलासमा आइतबारदेखि भइरहेको अन्तिम सुनवाइमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहनुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा भइरहेको बहस बहुमत प्राप्त प्रधानमन्त्रीले गरेको संसद् विघटनको वैधानिकताका विषयमा केन्द्रित छ ।
विघटनविरुद्ध परेको रिटमा भइरहेको विषयकेन्द्रीत बहसको दुई दिनमा छ जना कानुन व्यवसायीले मात्र बहस गर्नुभएको छ ।
रिट निवेदनमाथिको सुनुवाइ लम्बिने देखिएपछि संवैधानिक इजलासले संक्षिप्त बहस गर्न कानुन व्यवसायीसँग आग्रह समेत गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार