‘एमाले एक ढिक्का हुँदा हामीलाई जित्न सहज थियो, तर एमालेकै माधव पक्षले भोट हाल्ने स्थिति देखिएन । त्यही भएर बादललाई उम्मेदवार बनाउने वा अरु भन्नेमा निर्णय हुन सकेन’, ओली पक्षका एक स्थायी समिति सदस्यले भने ‘आज बेलुकासम्म टुंगो लाग्छ ।’
काँग्रेस, माओवादीले संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । एमाले निकट वाम बुद्धिजीवी भनेर चिनिएका देवकोटालाई माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको माधव नेपाल पक्षको समर्थन छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएअनुसार बुधबार देवकोटाको उम्मेदवारी सार्वजनिक गरिएको हो ।
एक सिटका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेशका ११० सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।
समग्रमा यो प्रदेशमा एमालेको ५,३१० मत भार हुन्छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न मुस्किल पर्ने देखिन्छ ।
कांग्रेस र माओवादी केन्द्र मात्रको गठबन्धनसँग ३,९७८ मत भार छ । यस हिसावले काँग्रेस, माओवादी, जसपा, साना दलसहित एमालेको माधव पक्ष एक ठाउँमा उभिदा एमालेको समग्र मत भार घट्न जाने र गठबन्धनको बढ्न जाने देखिन्छ ।