
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड–१९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा गर्न सक्ने अवस्था नभएकाले बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको बताए । अध्यक्ष पौडेलले भने, ‘अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ ।’
कोभिड–१९को महामारीका कारण परीक्षा के गर्ने, यस्तै अवस्था लामो समय रहँदा के गर्ने भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा परेका थिए । बोर्डले १३ जेठदेखि एसइइ र २६ जेठदेखि कक्षा १२ को तय भएको परीक्षा तय गरेको थियो ।
एसईईको परीक्षाका लागि सबै जिल्लाबाट गरी दुई हजार १५ परीक्षा केन्द्रका लागि सिफारिस भएर आएका थिए । ०७७ सालको एसईईमा करिब पाँच लाख १५ हजारले आबेदन भरेका थिए । कक्षा १२ को एकिन बिबरण नआए पनि साढे चार लाखको हारहारीमा हुने आंकलन थियो ।
https://www.nayapatrikadaily.com/news-details/63960/2021-05-10