सागर परियार ।
स्थानीय तहले असार १० गतेभित्रै नीति कार्यक्रम र बजेट अनिवार्य ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि कर्णालीका २४ स्थानीयतहले अझै बजेट ल्याउन सकेका छैनन् । योजना तथा बजेटको भागबन्डा देखि स्थानीयतहका प्रमुखले आफुखसी बजेट विनियोजना गर्न खोज्दा कर्णालीका २४ स्थानीय तहले अझै आगामी नीति कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् ।
यसैबीच जुम्लाका आठ स्थानीयतह मध्य चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । विगतमा असार १० गतेनै बजेट ल्याईरहेका तातोपानी र चन्दनाथले प्राविधिक समस्या भन्दै अझै बजेट ल्याउन नसकेका हुन् ।
यदपी, योजना बाडबाफाड तथा बजेट विनियोजनका विषयमा आन्तरिक बिवाद भएकाले बजेट आउन नसकेको बुझिएको छ । बजेट विनियोजनका बारेमा तातोपानीका जनप्रतिनिधिबीच कुराकानी नमिलेको र जनपक्षिय खालको बजेट आउनुपर्छ भन्ने आफ्नो माग रहेको तातोपानी गाउँपालिका ट नम्बर वडाध्यक्ष विशाल खड्काले बताए ।
त्यस्तै चन्दननाथ नगरपालिकाले केहि दिनपछि मात्रै बजेट ल्याउने बताएपनि मेयर र उपमेयर बीचको आन्तरिक विबादले बजेट ल्याउन ढिलाई भएको पनि बुझिएको छ । तर मेयर कान्तिका सेजुवालले नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट ल्याउने निर्णय भएअनुसार बजेट केहि दिनमा आउने बताइन् ।
यसका सार्थै, डोल्पाको मुड्केचुलामा पनि अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष सविताकुमारी रोकायाबीच पनि चर्को बिवाद भएकै कारण बजेट आउन सकेको छैन् ।
उता मुगुको सोरु गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षबीच मतभेद भएकोले गर्दा आगामी बजेट ल्याउन नसकेको पाइएको छ ।
अध्यक्ष लोकबहादुर शाही र उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बीच योजना छनोट र बजेट विनियोजनमा सुरुदेखि नै विवाद हुँदा नीति तथा कार्यक्रम र बजेट तयार पार्ने समयमा उपाध्यक्ष र अध्यक्ष जिल्ला बाहिर रहेको गाउँपालिकाले जनाएको छ ।
तोकिएको समयमा बजेट नल्याउने चन्दननाथ,तातोपानी,मुड्केचुला, सोरु गाउँपालिका मात्रै नभइ कर्णालीका २४ वटा स्थानीय तहले अहिले सम्म बजेट ल्याउन सकेका छैनन् ।
जसमध्य रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, मुगुको सोरु गाउँपालिका, कालीकोटको महावै गाउँपालिका र रास्कोट नगरपालिका, हुम्लाको सर्केगाड, चंखेली र नाम्खा गाउँपालिका लगायतका २४ स्थानीयतह रहेका छन् ।
अधिकांश जनप्रतिनिधिले आगामी चुनावीलाई केन्द्रमा राखी बजेट ल्याउन खोज्दा पनि विबाद भएको पाइएको छ ।
जुम्लाका ६ पालिकाको बजेट साढे दुई अर्ब
जुम्लाका ६ वटा स्थानीयतहले आगामी आवको बजेट ल्याएका छन् । आईतरबार सम्म जुम्लाका आठ स्थानीयतह मध्य ६ स्थानीयतहले बजेट ल्याएका हुन् । जुम्लाका चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका बाहेक अन्य पालिकाले आगामी आवको नीति कार्यक्रम सहित बजेट ल्याएका छन् । कृषि स्वास्थ्य,रोजगार तथा पर्यटनलाई प्रथामिकता दिएर नीति तथा बजेट ल्याएका हुन् ।
जसमा तिला गाउँपालिकाले ४५ करोड,३१ लख ६२ हजार,गुठिचौर गाउँपालिकाले ३२ करोड ९ लाख ४२ हजार, पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख बजेट विनियोजन गरेका छन् ।
त्यस्तै कनकासुन्दरी गाउँपालिकाले ४३ करोड र सिंजा गाउँपालिकाले भने, ३३ करोड १२ लाख बजेट आगामी आव २०७८÷८९ का लागि छुटाइएको छ ।
पाँच स्थानीय तहले गरी १ अर्ब ९४ करोड ८२ लाख ४ हजार रुपैया बराबरको बजेट सार्वजानिक गरिएको छ ।भने, सिंजा क्षेत्रको हिमा गाउँपालिकाले भने, ३७ करोड १८ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । जसमा पुजिगत तर्फ ९ करोड र बाँकी २८ करोड चालुगत तर्फ विनियोजन गरिएको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताईन् ।
जुम्लाका ८ स्थानीयतह मध्य ६ स्थानीयहले भने करिब २ अर्ब ३२ करोड १ लाख ३२ हजार बराबरको बजेट सार्वजानिक गरेका छन् । भने, अहिले सम्म चन्दननाथ र तातोपानी गाउँपालिकाले भने बजेट ल्याउन सकेका छैनन् ।
शिक्षा, स्वास्थ्य, हिलोमुक्त वडा देखि रोजगारी सृजनाको नीतिलाई प्रथामिकता दिएर बजेट ल्याएको हिमा गाउँपालिकाले विनियोजित बजेटलाई आबश्यकता अनुसार ब्रेकडाउन गर्न बाकी रहेको हिमाका अध्यक्ष रज बहादुर शाहिले बताए ।
उता पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले कुन शिर्षकमा कति बजेट छुटाउने, प्रथामिकताका क्षेत्रमा बजेट घटाउने बढाउने विषयमा नियममित छलफल भईरहेको बताए ।